एप्पलले सुरु गर्यो ह्यूस्टनस्थित कारखानामा निर्माण गरिएको एआई सर्भरको शिपिङ

Technology Khabar ७ कार्तिक २०८२, शुक्रबार

काठमाडौं ।

एप्पलले अमेरिकाको ह्यूस्टनस्थित कारखानामा निर्माण गरिएको कृत्रिम बुद्धिमत्ता (एआई) सर्भरहरू पठाउन सुरु गरेको छ। कम्पनीले बिहीबार दिएको जानकारीअनुसार आगामी केही वर्षमा अमेरिकामा ६०० अर्ब डलर लगानी गर्ने योजनाको यो एक हिस्सा हो।

यी सर्भरहरूमा विशेष चिपहरू प्रयोग गरिएको छ, जसले एप्पललाई आफ्ना आइफोन र म्याक कम्प्युटरमा जस्तै गोपनीयता मापदण्ड कायम राख्दै एआई सुविधा प्रदान गर्न सहयोग गर्ने रोयटर्सले उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिकामै आइफोन बनाउन दबाब दिँदै आएका छन्, तर एप्पलका सीईओ टिम कुकले अहिलेका लागि असेंबली विदेशमै रहने बताएका छन्। उनले भनेका छन् कि कम्पनीले आइफोनका मुख्य चिप र कम्पोनेन्टहरू भने अमेरिकाबाट आपूर्ति गर्ने प्रयास गरिरहेको छ।

एप्पलल ह्यूस्टन कारखानाबाट पठाइएका सर्भरहरू देशभरका यसको डाटा सेन्टरहरूमा जडान गरिने बताएको छ।

“हाम्रो टोलीले निर्धारित समयभन्दा अघि ह्यूस्टन कारखाना सञ्चालनमा ल्याउन उल्लेखनीय काम गरेको छ। हामी आगामी वर्ष उत्पादन क्षमता बढाउन यो सुविधा थप विस्तार गर्ने योजना बनाइरहेका छौं,” एप्पलका प्रमुख सञ्चालन अधिकारी सबिह खानले विज्ञप्तिमा भनेका छन्।

प्रकाशित: ७ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया