पृथ्वीको दोस्रो ‘मिनी मून’ क्षुद्रग्रह उत्खननकर्ताका लागि सुनको भण्डार प्रमाणित हुन सक्छ: रिपोर्ट

Technology Khabar ७ आश्विन २०८२, मंगलवार

पृथ्वीको दोस्रो ‘मिनी मून’ क्षुद्रग्रह उत्खननकर्ताका लागि सुनको भण्डार प्रमाणित हुन सक्छ: रिपोर्ट

काठमाडौं ।

लगभग एक वर्षअघि एउटा  पृथ्वीको कक्षामा प्रवेश गरी करिब दुई महिना हाम्रो टाउकोमाथि घुमेर बाहिरिएको थियो। यस्ता क्षुद्रग्रहले पृथ्वीको जीवनमा खतरा उत्पन्न गर्ने सम्भावना भएकाले वैज्ञानिकहरूले प्रायः निगरानी गर्छन्।

तर, खतरा मात्र नभई क्षुद्रग्रहहरूमा रहेका बहुमूल्य धातुका कारण तिनीहरूको मूल्य अर्बौं डलरसम्म हुन सक्छ। यही कारणले अन्तरिक्ष व्यवसायी र वैज्ञानिकहरू आगामी क्षुद्रग्रहलाई नियन्त्रणमा लिएर उत्खनन गर्ने योजनामा छन्।

धेरैजसो क्षुद्रग्रहले मंगल र बृहस्पति बीचको घेराभित्र सूर्यलाई परिक्रमा गर्छन्। तीमध्ये केहीमा ल्यापटप र स्मार्टफोन बनाउन प्रयोग हुने धातु—जस्तै प्लाटिनम, कोबाल्ट, फलाम र सुन—पनि हुन्छन्। नासाले यी क्षुद्रग्रहमा रहेका धातुको मूल्य पृथ्वीका प्रत्येक व्यक्तिका लागि करिब १०० मिलियन डलर हुने अनुमान गरेको थियो।

लाभदायक १० वटा क्षुद्रग्रह उत्खनन गर्न सकिए करिब १.५ ट्रिलियन डलरसम्म आम्दानी हुनसक्ने अनुमान गरिएको छ। तर ठूलो प्रश्न रहन्छ—के हामी यी धातुहरूलाई प्राप्त गर्न सक्छौं?

बृहस्पतिको शक्तिशाली गुरुत्वाकर्षणले कहिलेकाहीँ क्षुद्रग्रहलाई सौर्यमण्डलभरि हुत्याउँछ, कहिलेकाहीँ पृथ्वी तर्फ पनि। गतवर्ष २०२४ पीटी५ नामक क्षुद्रग्रह सूर्यबाट करिब १५० मिलियन किलोमिटर टाढा रहेको अर्जुना क्षुद्रग्रह बेल्टबाट पृथ्वीको कक्षामा प्रवेश गरेको थियो।

स्पेस डटकमका अनुसार यसलाई ‘मिनी–मून’ भनिएको थियो, यद्यपि प्राविधिक रूपमा यसले पृथ्वीको पूर्ण एक फेरा लगाएको थिएन। पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रबाट बाहिरिनु अघि यसले हाम्रो चन्द्रमाको झैँ कक्षा नक्कल गरेको कारण त्यसलाई ‘मिनी–मून’ उपनाम दिइयो। यसमा दुर्लभ धातुहरू पनि रहेका थिए।

क्षुद्रग्रह उत्खनन सम्भव छ?

अघिल्ला समयमा नासाको ओसिरिस–रेक्स वा जापानको हायाबुसा–२ अभियानमार्फत केही नमूना पृथ्वीमा ल्याइएको थियो। तर प्रति ग्राम १० मिलियनदेखि १५० मिलियन डलरसम्म खर्च भएको थियो।

यसको एउटा कारण भनेको क्षुद्रग्रहहरू सामान्यतया निकै टाढा हुनु हो। इन्धन र उपकरण खर्च मात्र पनि धेरै हुन्छ। तर मिनी–मून भने तुलनात्मक रूपमा सजिलो लक्ष्य मानिन्छन्, किनभने तिनीहरू पृथ्वीको नजिकै हुन्छन्। यही कारण गतवर्षको मिनी–मूनले धेरै अन्तरिक्ष उत्खनन स्टार्टअपलाई तयारी गर्न प्रेरित गर्‍यो।

“यदि हाम्रो प्रणाली तयार भएको भए हामी त्यसलाई नियन्त्रणमा लिन सक्थ्यौं,” अन्तरिक्ष उत्खनन कम्पनी ट्रान्सअस्त्राका संस्थापक तथा सीईओ जोएल सेर्सेलले स्पेस डटकमसँग भनेका थिए। “हामी त्यसतर्फ उड्थ्यौं, कब्जा गर्थ्यौं, सानो मात्र इन्धन प्रयोग गरेर स्थिर कक्षामा राख्थ्यौं। त्यसपछि हाम्रो आफ्नै अन्तरिक्ष स्रोत हुने थियो।”

तर समस्या भनेको वैज्ञानिक र व्यवसायीबीच मिनी–मून कति सामान्य छन् भन्ने विषयमा सहमति नहुनु हो। पछिल्ला १० वर्षमा १० भन्दा कम मात्र देखिएका छन्। योजनाहरू धेरै भए पनि अहिले सम्म कसैले पनि यसलाई सफलतापूर्वक उत्खनन गर्न सकेको छैन। सबै विज्ञहरू भने क्षुद्रग्रहमा पुग्नु महँगो र जटिल हुने सहमत छन्।

“कतिपयबेला ती धेरै तात्छन्, कतिपयबेला धेरै चिसो हुन्छन्,” न्यू मेक्सिको इन्स्टिच्युट अफ माइनिङ एन्ड टेक्नोलोजीका सह–प्राध्यापक मुस्तफा हस्सानालियनले स्पेस डटकमलाई भने। “त्यसका साथै विकिरणको चुनौतीले पनि क्षुद्रग्रह अभियान जटिल बनाउँछ।”

हाल करिब एक दर्जन साना क्षुद्रग्रह पृथ्वी वरिपरि घुमिरहेका हुन्छन्। तर तिनीहरू पर्याप्त ठूलो नहुने भएकाले उत्खनन आर्थिक रूपमा लाभदायक हुँदैन। तर मिनी–मून भने उचित आकारका हुने भएकाले उत्खनन सम्भावना बढ्छ। चुनौती भनेकै तिनीहरूलाई पत्ता लगाउनु हो।

विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा भएको भेरा सी. रुबिन वेधशालाका वैज्ञानिकहरूले मिनी–मून पत्ता लगाउने प्राविधिक क्षमता बढ्ने बताएका छन्। जुन महिनामा वेधशालाले पहिलो तस्बिर सार्वजनिक गरेपछि अन्तरिक्ष उत्खनन अब केवल समयको कुरा भएको देखिएको छ।

प्रकाशित: ७ आश्विन २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार