
काठमाडौं ।
सामसङले यस वर्षको अन्त्यतिर आफ्नो पहिलो ट्राई–फोल्ड स्मार्टफोन लन्च गर्नेछ। प्रारम्भिक अफवाहहरूले फोन दक्षिण कोरिया र चीनमा मात्र बिक्री गरिने सुझाव दिए पनि नयाँ रिपोर्टले भने नयाँ संकेतको खुलासा गरेको छ।
सामसङले आफ्नो ट्राई–फोल्ड स्मार्टफोन अमेरिकामा ल्याउने विचार गरिरहेको यस विषयमा परिचित स्रोतलाई उद्धृत गर्दै सीएनएन बिजनेसको रिपोर्टले उल्लेख गरेको छ। यदि त्यसो भएको खण्डमा भने अमेरिकी बजारमा ट्राई–फोल्ड डिभाइस बिक्री गर्ने सामसङ पहिलो ब्राण्ड बन्नेछ।
ह्वावे हाल उपभोक्ताहरूलाई ट्राई–फोल्ड फोन बिक्री गर्ने एक मात्र ब्रान्ड हो। ह्वावेले आफ्नो मेट एक्सटी र मेट एक्सटी गरी दुईओटा ट्राई–फोल्ड डिभाइसहरु प्रस्तुत गरिरहेको छ भने तिनीहरूको उपलब्धता चीनमा मात्र सीमित रहेको छ।
ह्वावेको मोडेल भन्दा फरक अनफोल्डिङ्ग मेकानिजम हुने भनिएको सामसङको ग्यालेक्सी ट्राईफोल्ड भनिने आगामी ट्राई–फोल्ड नोभेम्बरमा लन्च हुने अपेक्षा गरिएको छ। साथै अमेरिकामा लन्च भएमा यस ट्राई–फोल्डको मूल्य लगभग ३,००० अमेरिकी डलर हुन सक्ने एन्ड्रोइड अर्थोरिटीले रिपोर्ट गरेको छ।
प्रकाशित: ७ आश्विन २०८२, मंगलवार