अनलाइन प्रविधिको प्रयोग गर्ने सोचेको छु: मन्त्री सिन्हा 

  • Technology Khabar | ६ आश्विन २०८२, सोमबार
अनलाइन प्रविधिको प्रयोग गर्ने सोचेको छु: मन्त्री सिन्हा 

काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्ने क्रममा कार्यविधिगत कुरामा सहजीकरण गर्नुका साथै अनलाइन प्रविधिको प्रयोग गर्ने सोचे रहेको बताएका छन्।

“छ महिनामा धेरै उपलब्धि हासिल गर्ने आशा नराखौँ। कार्यविधिगत कुरामा सहजीकरण गर्नेका साथै अनलाइन प्रविधिको प्रयोग गर्ने सोचेको छु”, मन्त्री सिन्हाले भने, “जेनजीहरूले दिएको योगदान खेर जान नदिने गरी काम गर्नेछौँ।”

मन्त्री सिन्हाले अन्तरिम सरकारको पहिलो लक्ष्य स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले चुनाव गराउने र राज्य सञ्चालनको जिम्मा निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने रहेको प्रष्ट्याए। उनले आगामी चुनावमा नयाँ अनुहारलाई सदनमा देख्न पाउने आशा व्यक्त गरे। मन्त्री सिन्हाले सर्वोच्च अदालतको पूर्वन्यायाधीश भएर काम गरिसकेका छन्।

पदबहालीपछि उनले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामग्री नै प्रयोग गर्नेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर पनि गरे।

त्यस अवसरमा उनले पुननिर्माण गर्दा केही महङ्गो भए पनि स्थानीय उत्पादन नै प्रयोग गर्न प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए। मन्त्री सिन्हाले उद्योग व्यवसायलाई सहजीकरण नगरीकन देशमा आर्थिक उन्नति गर्न नसकिने भन्दै यो कदमले केही हदसम्म उद्यम विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले भने,“अहिलेको मूल उद्देश्य भनेको तत्कालका लागि घाइते र सहादत प्राप्त गर्नेहरूका परिवारलाई रोजगारीको अवसर दिने र युवाको सीप व्यवस्थापनमा जोड दिने हो। युवालाई देशमा बस्ने वातावरण मिलाउन सीप विकास र व्यवस्थापनको आवश्यकता छ। यसमा लाग्छौँ।”

प्रकाशित: ६ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • ६ आश्विन २०८२, सोमबार