सैद्धान्तिक सीमाभन्दा दुई गुणा छिटो बढिरहेको शाल ब्ल्याक होल फेला पर्यो, यसले ब्रह्माण्डलाई खतरा पुर्याउला?

Technology Khabar ६ आश्विन २०८२, सोमबार

सैद्धान्तिक सीमाभन्दा दुई गुणा छिटो बढिरहेको शाल ब्ल्याक होल फेला पर्यो, यसले ब्रह्माण्डलाई खतरा पुर्याउला?

काठमाडौं ।

खगोलविदहरूले प्रारम्भिक ब्रह्माण्डमा एउटा विशाल ब्ल्याक होल फेला पारेका छन् जसले सैद्धान्तिक सीमाभन्दा दुई गुणा बढी दरमा पदार्थहरु निलिरहेको छ। यो खोजले ठूलो विस्फोट अर्थात् बिग ब्याङपछि छोटो समयमा बनेका केही ब्ल्याक होलहरू कसरी यति छिट्टै र यति ठूला भए भन्ने रहस्यलाई अझै गहिरो बनाएको छ।

नासाको चन्द्रा एक्स–रे वेधशाला प्रयोग गरेर खगोलविदहरूले आरएसीएस जे०३२०-३५ नामक प्राचीन ब्ल्याक होलमा ध्यान केन्द्रित गरे, जुन बिग ब्याङ भएको ९२० मिलियन वर्षपछि बनेको हो।

लाइभसाइन्सका अनुसार त्यस समयमा ब्रह्माण्ड हालको उमेरको करिब एक–पन्ध्रौं मात्र रहँदा ब्ल्याक होल पहिले नै विशाल बनिसकेको थियो जसको तौल सूर्यको करिब १ अर्ब गुणा थियो र अझै तीव्र गतिमा बढिरहेको थियो।

नयाँ विश्लेषणअनुसार, ब्ल्याक होलबाट निस्किएको एक्स–रे, इन्फ्रारेड र अप्टिकल विकिरणले यो सुपरम्यासिभ ब्ल्याक होल सैद्धान्तिक रूपमा सम्भव भन्दा पनि छिटो, एडिङटन सीमाभन्दा २.४ गुणा बढी दरमा बढिरहेको देखाउँछ। एडिङटन सीमा भनेको ब्ल्याक होलको बाहिरी विकिरण दबाब र गुरुत्वाकर्षण तानाबिचको सम्बन्धमा आधारित सैद्धान्तिक अधिकतम सीमा हो।

“यो ब्ल्याक होलले यति छिटो–छिटो बढिरहेको देख्दा अलिकति चकित भयौं,” अध्ययनका प्रमुख लेखक लुका इघिनाले नासाको विज्ञप्तिमा भने।

यसअघि पनि प्रारम्भिक ब्रह्माण्डमा यस्ता “सुपर–एडिङटन” ब्ल्याक होलहरू भेटिएका भए पनि, यसबारे अझ अध्ययन गर्दा पुराना ब्ल्याक होलहरूले किन हाम्रो सर्वोत्तम खगोलभौतिकीय एस्ट्रोफिजिकल मोडेललाई चुनौती दिइरहेका छन् भन्ने बुझ्न वैज्ञानिकहरू नजिक पुग्ने सम्भावना छ। यो अनुसन्धान सेप्टेम्बर ८ मा द एस्ट्रोफिजिकल जर्नल लेटर्स मा प्रकाशित भएको हो।

ब्ल्याक होल के हुन्?

ब्ल्याक होल विशाल ताराहरूको पतनबाट बन्ने खगोलीय वस्तु हुन्, जसले अन्तरिक्षमा गुरुत्वाकर्षणको गहिरो खाडल सिर्जना गर्छन्। तिनीहरू अन्य ब्ल्याक होलसँग गाभिएर वा वरिपरिबाट खसेको पदार्थ निलेर बढ्छन्।

सबैभन्दा ठूला ब्ल्याक होलहरूले नजिकको पदार्थलाई प्रकाशको गतिसम्म तानेर उज्यालो घेरा बनाउन सक्छन् वा आकाशगंगाभरि फैलिने जेटहरू फ्याँक्छन्। यस्ता अत्यन्त उज्याला ब्ल्याक होललाई क्वासार भनिन्छ।

आरएसीएस जे ०३२०-३५ पनि त्यस्तै क्वासार हो। यसलाई पहिले रेडियो टेलिस्कोप सर्वेक्षणमा पत्ता लगाइएको थियो र २०२३ मा चन्द्राले अध्ययन गरेको हो। यसको तीव्र उत्सर्जनका कारण यसलाई “ब्ल्याक होलको वृद्धि अध्ययन गर्न आदर्श प्रयोगशाला” भनिएको छ।

खगोलविदहरूले ब्ल्याक होलबाट निस्किएको एक्स–रे प्रकाशलाई विभिन्न तरंगलम्बाईमा मापन गरेर इन्फ्रारेड र अप्टिकल तथ्याङ्कसँग तुलना गरे। नतिजामा, ब्ल्याक होल हरेक वर्ष ३०० देखि ३,००० सूर्यबराबरको पदार्थ निलिरहेको अनुमान गरिएको छ, जुन यसको आकारअनुसार एडिङटन सीमाभन्दा निकै माथि हो। यस्तो अवस्थामा पनि ब्ल्याक होल अस्थिर नभई कसरी बढिरहेको छ भन्ने अझै रहस्य नै छ।

वैज्ञानिकहरूले यसको वृद्धि दर र उमेरका आधारमा पछाडि फर्केर यसको उत्पत्ति अनुमान गरे। निष्कर्षमा, यो ब्ल्याक होल सायद १०० सूर्यभन्दा कम तौल भएको ठूलो ताराको पतनबाट बनेको हुनसक्छ।

जेम्स वेब स्पेस टेलिस्कोपले पनि प्रारम्भिक ब्रह्माण्डमा यस्ता सम्भावित सुपर–एडिङटन ब्ल्याक होलहरू पत्ता लगाइसकेकाले यस्ता छिटो बढ्ने ब्ल्याक होलहरू हाम्रो मोडेलले अनुमान गरेभन्दा धेरै सामान्य हुनसक्ने संकेत गरेको लाइसाइन्सले उल्लेख गरेको छ।

यस किसिमका ब्ल्याक होलहरूको अध्ययनले ब्रह्माण्डका सबैभन्दा पुराना ब्ल्याक होलहरूको मूल प्रश्नहरू—उनीहरू कहाँबाट आए र यति छिटो कसरी बढे—उजागर गर्न मद्दत गर्ने वैज्ञानिकहरूको आशा छ।

“ब्रह्माण्डले पहिलो पुस्ताका ब्ल्याक होलहरू कसरी बनायो?” अध्ययनका सह–लेखक थोमस कोनरले भने, “यो खगोलभौतिकीका सबैभन्दा ठूला प्रश्नमध्ये एक हो र यो वस्तुले त्यसको उत्तर नजिक ल्याउन मद्दत गरिरहेको छ।”

प्रकाशित: ६ आश्विन २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार