
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै हाल चलिरहेको आन्दोलनलाई जेन जी को नेतृत्वमा भएको आन्दोलन को रुपमा व्याख्या गर्दै अब देशको नेतृत्व यही पुस्ताले गर्नुपर्ने समय आएकोले तयार रहन आग्रह गरेका छन्।
उनले जनधनको क्षतिलाई गम्भीरतापूर्वक उल्लेख गर्दै अब आन्दोलनलाई संयमित ढंगले अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको केही समयपछि मेयर शाहले सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट राख्दै यस्तो आग्रह गरेका हुन्।
शाहले भनेका छन्, “प्रिय जेन जी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुपर्छ। देशको जनधनको क्षति भनेको तपाईं हाम्रो सम्पत्तिको क्षति हो।”
उनले वर्तमान पुस्ताले अब देशको नेतृत्व गर्ने समय आएको पनि प्रष्ट पारे। साथै, आवश्यक परेमा सेनासँग वार्ता गर्न आफूहरू तयार रहेको जानकारी दिएका छन्। तर शाहले चेतावनी दिँदै भने, “वार्ता गर्न संसद् विघटन भएको हुनुपर्छ।”
बालेन शाहको यो अभिव्यक्ति हालै नेपालमा भइरहेका विरोध प्रदर्शन र आन्दोलनसँग प्रत्यक्ष जोडिएको मानिएको छ। सामाजिक सञ्जालमा उनको वक्तव्य व्यापक रूपमा सेयर भइरहेको छ।
प्रकाशित: २४ भाद्र २०८२, मंगलवार