
काठमाडौं ।
इलन मस्कको स्पेसएक्सले अमेरिकी अपरेटर इकोस्टारबाट १७ अर्ब डलरमा स्पेक्ट्रम इजाजतपत्र किनेको छ।
यो सम्झौता स्टारलिङ्क नेटवर्क सञ्चालनलाई सुदृढ पार्ने योजनाको एक महत्त्वपूर्ण अंश भएको दुवै कम्पनीले सोमबार जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
सम्झौताअनुसार, इकोस्टारको बुस्ट मोबाइल ग्राहकहरूलाई अब स्पेसएक्सको स्टारलिङ्क ‘डाइरेक्ट–टु–सेल’ सेवामा अतिरिक्त समर्पित टर्मिनलको आवश्यकता बिना नै पहुँच उपलब्ध हुनेछ।
स्पेसएक्सले सन् २०२४ को सुरुआतमा पहिलो डाइरेक्ट–टु–सेल उपग्रह प्रक्षेपण गरेको थियो । यस सेवामार्फत सुरुमा पाठ सन्देश र चेतावनी सुविधा उपलब्ध गराइएको थियो भने अहिले दुर्गम क्षेत्रका प्रयोगकर्ताले अनुप्रयोग, सामाजिक सञ्जाल र सन्देश प्लेटफर्महरूमा पहुँच गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ।
यी सेवाहरू विस्तार गर्न स्पेसएक्सले उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलिया, जापान, स्विट्जरल्यान्ड र युक्रेनलगायतका देशका १० वटा अपरेटरहरूसँग साझेदारी गरेको छ।
“विश्वको ५० प्रतिशतभन्दा बढी भूभाग स्थलीय सेवामार्फत खुला गरिएको छ”, स्पेसएक्सले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
कम्पनीका अनुसार, नयाँ पुस्ताको ‘डाइरेक्ट–टु–सेल’ कन्स्टेलेसनको विकास र प्रक्षेपण जारी राख्दा, अधिकतम ग्राहकलाई सर्वव्यापी कभरेज दिन विश्वव्यापी रूपमा मोबाइल नेटवर्क अपरेटरहरूसँग सहकार्य गर्ने प्रतिबद्धता रहेको छ।
यस घोषणापछि न्युयोर्क स्टक एक्सचेन्जमा प्रि–मार्केट इलेक्ट्रोनिक कारोबारमा, करिब एक हजार दुई सय जिएमटीमा, इकोस्टारको सेयर मूल्य २२ प्रतिशतले बढेर ८२ डलर पुगेको छ। रासस/एएफपी
प्रकाशित: २४ भाद्र २०८२, मंगलवार