Technology Khabar २३ भाद्र २०८२, सोमबार
काठमाडौं ।
लेनोभोले आईएफए बर्लिनमा आफ्नो दोस्रो जेनेरेसनको लिजन गो गेमिङ ह्यान्डहेल्ड अनावरण गरेको छ। लिजन गो २ गत वर्षको मूल लिजन गो जस्तै देखिए तापनि नयाँ प्रोसेसर र ठूलो ब्याट्री सहित धेरै सुधारहरू प्रदान गर्दछ।
लेनोभो लिजन गो २ लाई एएमडी राईजेन जेड२ वा जेड२ एक्स्ट्रिम प्रोसेसरसँग कन्फिगर गर्न सकिने बताइएको छ जसलाई एएमडी रेडियन ८९०एम जीपीयूसँग जोडिएको छ। यसलाई ३२ जीबी सम्मको ८,०००मेगाहर्ज र्याम र २टीबी सम्मको पीसीआई जेन ४ स्टोरेजसँग जोड्न सकिने बताइएको छ। साथै माइक्रोएसडी कार्ड स्लट मार्फत स्टोरेज विस्तार पनि गर्न सकिने उल्लेख गरिएको छ।
लेनोभोको नयाँ ह्यान्डहेल्डमा ८.८–इन्च ओएलईडी प्यानल रहेको छ जसले १९२० × १२०० पिक्सेलको रिजोल्युसन र ३० देखि १४४हर्ज भरियबल रिफ्रेस रेट प्रदान गर्दछ। यो डिस्प्लेले ५०० निट्स ब्राइटनेस प्रदान गर्दछ र एचडीआर ट्रुब्ल्याक १००० प्रमाणीकरण पनि प्राप्त गरेको जनाइएको छ।
लिजन गो २ मा मूल लिजन गो को तुलनामा ठूलो ७४वाट–आवर ब्याट्री पनि समावेश गरिएको छ। मूल लिजन गो ४९.२वाट–आवर सेलको साथ आएको थियो।
ह्यान्डहेल्डमा अब पावर बटनमा फिङ्गरप्रिन्ट स्क्यानर, पावर डेलिभरी ४.० समर्थनको साथ डुअल यूएसबी४ पोर्टहरू र ३.५एमएम हेडफोन ज्याक उपलब्ध रहेको छ। त्यसैगरी ह्यान्डहेल्डमा डुअल २डब्ल्यू स्पिकरहरू, डुअल माइक्रोफोनहरू, वाई–फाई ६ई र ब्लुटुथ ५.३ पनि उपलबध रहका छन्।
लेनोभो लिजन गो २ को तौल १०७९ ग्राम रहेको छ। यो यस महिना चयन गरिएका बजारहरूमा ९९९ यूरोको सुरुवाती मूल्यमा खरिदको लागि उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २३ भाद्र २०८२, सोमबार