Technology Khabar २१ भाद्र २०८२, शनिबार
काठमाडौं ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अटोमोबाइल र अन्य जापानी आयातमा कम भन्सार शुल्क लागू गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई स्वागत गरेका छन। उनले यसलाई प्रमुख उद्योगहरूले भोगिरहेको अनिश्चितता हटाउने कदमका रूपमा व्याख्या गरे।
अघिल्लो २५ प्रतिशतबाट १५ प्रतिशतमा भन्सार शुल्क कटौती गर्ने सम्झौता जुलाई २२ मा दुवै पक्षबीच भएको थियो।
“जापान र संयुक्त राज्य अमेरिकाबीचको कर वार्ता सरकारको शीर्ष प्राथमिकता थियो । हामीले सकेसम्म चाँडो र उत्तम तरिकाले सम्झौता हासिल गर्न सबै प्रयास गरेका थियौँ”, प्रधानमन्त्री इशिबाले शुक्रबार भने, “यो परिणाम उत्कृष्ट छ ।”
यो कदम जापानी प्रधानमन्त्रीले आफ्नै पार्टीभित्रका दक्षिणपन्थी प्रतिद्वन्द्वीहरूबाट दबाब खेपिरहेको बेला आएको हो । जुलाईमा भएको निर्वाचनमा हार खाएपछि उनीमाथि राजीनामाको माग बढ्दै गएको छ ।
वासिङ्टनमा जापानका शीर्ष कर वार्ताकार रियोसी अकाजावा र अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले पनि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्दै अमेरिकी परियोजनामा पाँच खर्ब ५० अर्ब डलरको जापानी लगानी पुष्टि गरे।
अकाजावाले ट्रम्पको आदेशले अटोमोबाइल र अटो पाट्र्समा भन्सार शुल्क १५ प्रतिशतमा सीमित गर्ने र विद्यमान दरमा कुनै थप वृद्धि नहुने स्पष्ट पारे।
अन्य धेरै सामानमा पनि यस्तै ‘पारस्परिक भन्सार शुल्क’ लागू हुने भए पनि विमान र विमानका पाट्र्स भने यसबाट बाहिर रहनेछन्।
जुलाईमा सम्झौता भए पनि जापानी अधिकारीहरूले केही दिनपछि प्रारम्भिक प्रतिलिपामा त्रुटि भेट्टाएका थिए । त्यसले विद्यमान दरमाथि १५ प्रतिशत थपिएको देखाएपछि जापानले आपत्ति जनायो। वासिङ्टनले गल्ती स्वीकार गर्दै अतिरिक्त भुक्तान भएका भन्सार शुल्क फिर्ता गर्नेमा सहमति जनायो ।
अकाजावाका अनुसार आदेश दुई साताभित्र कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री इशिबाले ट्रम्पलाई आफ्नो पत्र पठाउँदै ‘जापान–अमेरिका सम्बन्धको स्वर्णिम युग निर्माण गर्ने’ इच्छा प्रकट गरे र राष्ट्रपतिलाई जापान भ्रमणको निम्तो दिए।
अकाजावाले सम्झौतालाई निरन्तर लगानीमै केन्द्रित आफ्नो प्रयासको नतिजा भएको उल्लेख गर्दै भने, “सम्झौतालाई विश्वासपूर्वक र तुरुन्त कार्यान्वयन गर्नु अत्यन्तै महत्त्वपूर्ण छ।” रासस/एपी
प्रकाशित: २१ भाद्र २०८२, शनिबार