
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सूचना प्रविधिको लगानी गर्ने प्रमुख गन्तव्य भएको बताएका छन्।
‘जापान- नेपाल सूचना प्रविधि मञ्च २०२५ कार्यक्रमलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री गुरुङले जापानी लगानीलाई खुला रूपमा स्वागत गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन्।
मन्त्री गुरुङले जापानी लगानी सुरक्षित गर्न नीतिगत रूपमा कर छुट, पूर्वाधार सहायतालगायत सुविधा दिन तयार रहेको बताए। उनले भने, “नेपाल स्वच्छ जलविद्युत् र प्राकृतिक वातावरणले रमणीय छ। जसमा ठूला खालका डाटा केन्द्रहरू र कम्प्युटिङ हब स्थापना गर्न सकिने सम्भावना छ। डिजिटल नेपाल फ्रेमवर्कले सुशासन, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन जस्ता क्षेत्रमा डिजिटल रूपान्तरण गर्न सकिन्छ।”
मन्त्री गुरुङले नेपाल सरकारले आफ्नै भूउपग्रह प्रक्षेपण गर्न जापान सरकारसँग सरकारीस्तरमा सम्झौता गरेर प्राविधिक सहयोग पाउने अपेक्षा राखेको बताए। नेपालको आफ्नै भूउपग्रह भएमा मौसम पूर्वानुमान, विपत् तयारी र दूरवर्ती शिक्षालगायत अन्य क्षेत्रमा सहयोग पुग्ने उनको भनाइ छ।
“विश्व प्रविधिको क्षेत्रमा नेपाललाई दक्षिण एसियाको सिलिकन भ्यालीका रूपमा हेर्ने बनाउन सकिन्छ । जसबाट ई- गभर्नेन्स, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा र डिजिटल सार्वजनिक पूर्वाधारमा सरकार प्रतिबद्ध र दृढ छ”, उनले भने।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा
सदस्य डा. स्वर्णिम वाग्लेले नेपालले जापानसँग प्राविधिक व्यवसाय गर्ने
प्रशस्त आधार भए पनि सुरुवातका रूपमा एक/दुई वटा ठूला अन्तर्राष्ट्रिय कम्पनीबाट बृहत् व्यवसाय सुरु गर्नुपर्ने बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: २३ श्रावण २०८२, शुक्रबार