अमेरिकामा उत्पादन गर्ने कम्पनीहरूलाई छुट दिँदै सेमिकन्डक्टर आयातमा शतप्रतिशत कर लगाइने

  • Technology Khabar | २३ श्रावण २०८२, शुक्रबार
अमेरिकामा उत्पादन गर्ने कम्पनीहरूलाई छुट दिँदै सेमिकन्डक्टर आयातमा शतप्रतिशत कर लगाइने
फाइल तस्बिर

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले अब सेमिकन्डक्टर आयातमा झन्डै १०० प्रतिशत ट्यारिफ लगाउने तयारीमा रहेको बुधबार घोषणा गरेका छन्।

तर उनले एउटा ठूलो छुट पनि दिएका छन् — यो ट्यारिफ अमेरिकाभित्र उत्पादन गरिरहेका वा उत्पादन गर्ने प्रतिबद्धता जनाएका कम्पनीहरूमा लागू हुने छैन।

यो कदम ट्रम्पको उत्पादनमूलक उद्योगलाई अमेरिका फर्काउने प्रयासको हिस्सा हो। उनले सो घोषणा एप्पलले अमेरिका भित्र थप १०० अर्ब डलर लगानी गर्ने निर्णयसँगै ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै गरेका थिए। “एप्पलजस्ता कम्पनीहरू जसले अमेरिकामा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्, तिनीहरूलाई कुनै शुल्क लाग्दैन,” ट्रम्पले भने।

तर उनले चेतावनी पनि दिए, “यदि कुनै कारणले तपाईंले कारखाना बनाउने भनेपछि बनाउनु भएन भने, त्यसपछि हामी गणना गर्छौं, रकम जम्मा हुन्छ, र पछि शुल्क लगाउँछौं — तिर्नैपर्छ, र त्यो सुनिश्चित छ,” ट्रम्पले थपे।

यद्यपि ट्रम्पको यो भनाइ कुनै औपचारिक कर घोषणा भने होइन, र यसले विश्वभरका कम्पनी र मुलुकहरूलाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट छैन।

रोयटर्सका अनुसार ट्रम्पले सेमिकन्डक्टरमा १०० प्रतिशत ट्यारिफ लगाउने कुरा त्यही दिन उल्लेख गरेका हुन् जब अमेरिकाले दर्जनौं व्यापार साझेदार मुलुकबाट आउने थुप्रै सामानमा १० प्रतिशत देखि ५० प्रतिशत सम्मको शुल्क लागू गर्न लागेको थियो। सेमिकन्डक्टर र अन्य प्रविधिसम्बन्धी वस्तुहरूमा ट्यारिफ लगाउने निर्णय राष्ट्रिय सुरक्षा अनुसन्धानको विषय बनिरहेको छ, जसको नतिजा अगस्ट मध्यसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।

ट्रम्पको बुधबारको भनाइसँगै विभिन्न देश र व्यापार समूहहरूले तत्काल प्रतिक्रिया जनाएका छन्।

दक्षिण कोरियाका मुख्य व्यापार दूतले बिहीबार बताएअनुसार त्यहाँका ठूला चिप निर्माता कम्पनीहरू — सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सलाई १०० प्रतिशत ट्यारिफ लगाइने छैन। वाशिङटन र सिओलबीचको व्यापार सम्झौताअनुसार दक्षिण कोरियाले सेमिकन्डक्टरमा सबैभन्दा अनुकूल शुल्क दर पाउनेछ।

अर्कोतर्फ फिलिपिन्सको सेमिकन्डक्टर उद्योगका अध्यक्ष ड्यान लाचिकाले ट्रम्पको योजना आफ्नो देशका लागि “विनाशकारी” हुने बताए।

चिप परीक्षण र प्याकेजिङमा विश्वस्तरमा अग्रणी मलेसियामा भने व्यापार मन्त्री तेंगकु जाफरुल अजीजले संसदमा चेतावनी दिँदै भने, “यी ट्यारिफका कारण यदि हाम्रो उत्पादन प्रतिस्पर्धी रहन सकेन भने अमेरिका भन्ने ठूलो बजार गुम्ने जोखिम रहन्छ।”

प्रकाशित: २३ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार