Technology Khabar २१ श्रावण २०८२, बुधबार
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले चालु आर्थिक वर्षबाट लागू हुनेगरी एकीकृत वित्तीय व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ। यो प्रणाली त्रिवि केन्द्रीय कार्यालयबाटै अनुगमन गर्न सक्ने वेबमा आधारित आर्थिक व्यवस्थापन सफ्टवेयर हो।
त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले हालसम्म कुनै लेखा सफ्टवेयर नचलाएका र विभिन्न किसिमका सफ्टवेयर चलाइरहेका त्रिविमातहतका १६० वटै बजेटरी निकायमा अब एकै किसिमको सफ्टवेयर प्रयोगमा आएकाले एकरूपता कायम हुने विश्वास व्यक्त गरे।
इरासफ्ट सोलुसन प्रालि र योङ माइन्ड क्रियसनले गत कात्तिकबाट त्रिविसँग सम्झौता गरी सफ्टवेयर निर्माणको काम गरेको प्रालिका प्रबन्ध निर्देशक ओम खड्काले जानकारी दिए।
नौ वटा मोडलमध्ये मुख्य लेखा अन्तर्गत भौचर र तलबका दुई मोडलको काम सम्पन्न गरी सरोकारवालालाई चारदिने तालिम पनि दिइसकिएको जनाइएको छ।
त्रिवि अन्तर्गत उपत्यकाभित्रका लेखा अधिकृतलाई चार समूहमा विभाजन गरी साउन १५ देखि १९ सम्म तालिम सञ्चालन गरिएको इरासफ्ट प्रालिका कार्यक्रम संयोजक तुलसी सिवाकोटीले जानकारी दिए।
आजको गोरखापत्रबाट
प्रकाशित: २१ श्रावण २०८२, बुधबार