टी नामक डेटिङसम्बद्ध एपमा साइबर आक्रमण, ७२ हजार प्रयोगकर्ताको डाटा चोरी

  • Technology Khabar | १२ श्रावण २०८२, सोमबार
टी नामक डेटिङसम्बद्ध एपमा साइबर आक्रमण, ७२ हजार प्रयोगकर्ताको डाटा चोरी

काठमाडौं ।

महिलाहरूले पुरुषहरूसँगको डेटिङ अनुभवबारे गुमनाम रूपमा टिप्पणी र समीक्षा गर्न पाउने टी नामक एउटा एपको डाटा चोरी भएको छ। एपका अनुसार, ह्याकरहरूले करिब ७२,००० प्रयोगकर्ताका तस्वीरहरूमा पहुँच पाएका छन्।

शनिबार रोयटर्ससँग कुराकानी गर्दै टी का प्रवक्ताले यो साइबर आक्रमणबारे पुष्टि गरेका छन्। उनले भने, ‘हाम्रो प्रणालीमा अनधिकृत पहुँच भएको पत्ता लागेको छ,” र ७२,००० वटा तस्वीरहरू सार्वजनिक भएका छन्। तीमध्ये १३,००० वटा सेल्फी र खाता प्रमाणिकरणका लागि पठाइएका फोटो परिचयहरू थिए भने ५९,००० वटा तस्वीरहरू पोस्ट, टिप्पणी र सिधा सन्देशहरू (डाइरेक्ट मेसेज) बाट लिइएका थिए।‘

कम्पनीले एक विज्ञप्तिमा भनेको छ, “हामी तेस्रो पक्षका साइबर सुरक्षा विज्ञहरूको सहयोगमा हाम्रो प्रणाली सुरक्षित बनाउन दिनरात खटिरहेका छौँ।” साथै प्रयोगकर्ताका इमेल वा फोन नम्बरहरू चुहावट नभएका र फेब्रुअरी २०२४ अघि साइन अप गरेका प्रयोगकर्ता मात्र प्रभावित भएको पनि स्पष्ट पारिएको छ।

यो डाटा चोरीको विषय पहिलोपटक शुक्रबार ४०४ मिडियाले सार्वजनिक गरेको थियो। “डेटिङ गर्दा महिलाहरूले कहिल्यै आफ्नो सुरक्षामा सम्झौता गर्नु हुँदैन” भन्ने नाराका साथ टी एपले आफूलाई प्रस्तुत गरेको छ।

यो एपमा महिलाहरूले खाता प्रमाणिकरणपछि गुमनाम रूपमा आफू चासो राखेका पुरुषबारे येल्प-जस्तो समीक्षा गर्न सक्ने सुविधा पाइन्छ। टी ले इन्स्टाग्राममा दिएको जानकारीअनुसार, पछिल्ला केही दिनमा दुई मिलियनभन्दा धेरै प्रयोगकर्ताले एपमा सामेल हुने अनुरोध गरेका छन्।

प्रकाशित: १२ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार