बालाजु औद्योगिक क्षेत्रमा सूचना प्रविधि पार्क बनाइने

  • Technology Khabar | २ श्रावण २०८२, शुक्रबार
बालाजु औद्योगिक क्षेत्रमा सूचना प्रविधि पार्क बनाइने
फाइल

काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बालाजुमा रहेको उद्योगलाई अन्यन्त्र सारेर सूचना प्रविधि पार्क बनाउने बताएका छन्।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औँ वार्षिकोत्सवलाई बिहिबार सम्बोधन गर्दै मन्त्री भण्डारीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेका उद्योगलाई अन्य उपयुक्त ठाउँमा सारी सूचना प्रविधि पार्क बनाउने योजना रहेकाले सोही अनुसार एक साताभित्र कार्ययोजना बनाएर मन्त्रालयमा उपस्थित हुन लिमिटेडलाई निर्देशन दिएका हुन्।

बालाजु औद्योगिक क्षेत्रभित्र ६ सय रोपनी जग्गामा १४७ ओटा उद्योग सञ्चालनमा छन्। काठमाडौँलगायतका मुख्य सहरमा उद्योग सञ्चालन गर्ने भनेर जग्गा प्लटिङमा लिए पनि सञ्चालन नगरेको पाइएपछि उपत्यकाका तीन जिल्लामा सूचना प्रविधि पार्क सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ।

विशेष आर्थिक क्षेत्र, गोदाम तथा पारवहन लिमिटेड र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग बसेर छलफल गर्न लागिएको उनले जानकारी दिए। रोजगारीका लागि विदेश जानु परेको वस्तु आयात बढिरहेको तर स्वदेशी उत्पादन घटिरहेकाले यस विषयमा निजी क्षेत्र, मन्त्रालय र लिमिटेड बसेर काम गर्ने प्रतिबद्धता जनाउन आवश्यक रहेको उनको भनाइ छ।

पूर्व दमकदेखि पश्चिम कञ्चनपुरसम्म औद्योगिक क्षेत्रको संरचना धेरै भए पनि नतिजा आउन नसकेको भन्दै उहाँले सरकारको प्राथमिकताको क्षेत्र उद्योग भएकाले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै जानु आवश्यक रहेको उनको भनाइ छ।

उद्योग सचिव कृष्णबहादुर राउतले औद्योगिकीकरण, उत्पादन, उत्पादकत्व वृद्धि भई जुन ढङ्गले उद्योग फस्टाउनु पर्थ्यो, त्यस अनुसार नभएको बताए। पूरा र नयाँ घोषणा भएका औद्योगिक क्षेत्रका चुनौती समाधान गर्न सकस भएको उनको भनाइ छ।

घोषणा भएका नयाँ सात वटा औद्योगिक क्षेत्रलाई कसरो सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालन गर्ने भनेर प्राविधिक अध्ययन गर्न र नीति कार्यान्वयनका लागि गृहकार्य आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित: २ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...