चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

Technology Khabar ३१ असार २०८२, मंगलवार

चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

चीनमा सन् २०२५ को पहिलो छ महिनामा ५६ लाख २० हजार नयाँ उर्जा सवारी (हरित उर्जा आधारित सवारी) दर्ता भएका छन्, जुन अहिलेसम्मकै सबैभन्दा बढी हो। चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.८६ प्रतिशतले वृद्धि भएको हो।

यो संख्या चीनको इतिहासमा कुनै पनि आधा वर्षको अवधिमा भएको सबैभन्दा धेरै हरित सवारी दर्ताको रेकर्ड हो। उक्त अवधिमा चीनमा दर्ता भएका कुल सवारीमध्ये ४४.९७ प्रतिशत हरित उर्जा सवारी थिए, जसले चीनको यातायात प्रणाली स्वच्छ उर्जा प्रणालीमा तीव्ररूपमा रूपान्तरण भइरहेको संकेत गर्छ।

सन् २०२५ को मध्यसम्म, चीनको सडकमा चल्ने कुल हरित उर्जा सवारीको संख्या तीन करोड ६८ लाख ९० हजार पुगेको छ, जुन चीनमा चलिरहेका सबै प्रकारका सवारीमध्ये १०.२७ प्रतिशत हो।

यीमध्ये ब्याट्रीबाट चल्ने सवारी सबैभन्दा अगाडि छन्। हाल चीनमा झन्डै दुई करोड ५५ लाख ४० हजार यस्ता सवारी छन्, जुन कुल हरित सवारीको ६९.२३ प्रतिशत हो।

गत दशकमा चीनको हरित सवारी क्षेत्रमा तीव्र वृद्धि देखिएको छ। सन् २०१४ मा जम्मा एक लाख २० हजार हरित सवारीमात्र सञ्चालनमा थिए। सन् २०२२ को मध्यसम्म यो संख्या एक करोड नाघ्यो। सन् २०२३ को अन्त्यसम्म यो संख्या दोब्बर भयो र २०२४ को अन्त्यसम्म तीन करोड पार गर्यो।

यो तीव्र विस्तारले चीनको हरित यातायात प्रणालीतर्फको दृढ प्रतिबद्धता झल्काउँछ, जसमा प्रविधिको प्रगति, चार्ज गर्ने पूर्वाधारको विस्तार र जनताको स्वच्छ सवारीप्रतिको बढ्दो माग प्रमुख कारण बनेका छन्।

राष्ट्रिय उर्जा प्रशासनका अनुसार, सन् २०२५ को चैतसम्म चीनभर चार्ज गर्ने पूर्वाधारको संख्या ४७.६ प्रतिशतले वृद्धि भई झन्डै एक करोड ३७ लाख ५० हजार पुगेको छ। यसमध्ये करिब ३९ लाख सार्वजनिक चार्जिङ केन्द्रहरू छन् भने ९८ लाख ५० हजार व्यक्तिगत चार्जिङ उपकरणहरू छन्। यी संरचनाहरू चीनको तीव्ररूपमा बढ्दो हरित सवारी क्षेत्रलाई आवश्यक पूर्वाधार आपूर्ति गरिरहेका छन्।-रासस/

प्रकाशित: ३१ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया