टर्कीले विकास गर्यो घातक विस्फोटक पदार्थ पत्ता लगाउने स्वचालित रोबोट
काठमाडौं ।
टर्कीको मेसान इलेक्ट्रोनिक्स र एसेट्रोन जस्ता डिफेन्स (रक्षा) कम्पनीहरूले संयुक्त रूपमा घातक विस्फोटक तथा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइसेस (आईईडी) पत्ता लगाउनका लागि डिजाइन गरिएको मानवरहित रोबोट विकास गरेका छन्।
उक्त माइन डिटेक्सन रोबोट इस्तानबुलमा आयोजित अन्तर्राष्ट्रिय रक्षा उद्योग मेला (इन्टरनेस्नल डिफेन्स इन्डस्ट्रि फेयर– आईडीईएफ २०२५) मा प्रस्तुत गरिएको बताइएको छ।
स्वायत्त रुपमा वा टाढाबाट सञ्चालन गर्न सकिने यो रोबोटले मेसान इलेक्ट्रोनिक्सको उन्नत सेन्सर प्रविधिहरू र एसेट्रोनको कम्प्याक्ट र ड्यूरेबल (टिकाउ) रोबोट प्लेटफर्मलाई संयोजन गरेको छ। यो रोबोटले एन्टी–पर्सनलका साथै एन्टी–ट्याङ्क माइनहरू, आईईडीहरू, केबलहरू, ट्रिप तारहरू र ट्रिप लाइनहरू पत्ता लगाउन सक्ने उल्लेख गरिएको छ।
टेलिग्राफका अनुसार यिनीहरुले स्क्यानिङ हेडलाई सञ्चालन आवश्यकताहरू अनुसार स्विच गर्न सकिने बताइएको छ जसले सुरक्षा बलहरूलाई खतरनाक क्षेत्रहरूमा प्रभावकारी रुपमा प्रारम्भिक सर्वेक्षण जस्ता कार्यहरू सञ्चालन गर्न र हताहत हुने सम्भावना कम गर्न मद्दत गर्नेछ।
यो प्रणाली क्रस बोर्डर अपरेसन अर्थात् सीमापार हमला, आतंकवाद विरोधी प्रयासहरू, माइन क्लियरेन्स र सैन्य चौकीहरूको परिधि सुरक्षामा प्रयोगको लागि विकसित गरिएको बताइएको छ।
हल्का तौल भएको रोबोटको मोड्युलर डिजाइनलाई एकल व्यक्तिद्वारा ढुवानी गर्न सकिने र विभिन्न प्रकारका मिसनहरूमा प्रयोगको लागि द्रुत रूपमा अनुकूलित गर्न सकिन्छ।
अफ्रिकी, मध्य पूर्वी र बाल्कन देशहरूले उत्पादनको लागि बलियो माग देखाएको हुनाले यसको निर्यात पनि बलियो हुने अनुमान गरिएको छ। रोबोटिक प्रणालीको पहिलो डेलिभरी यस वर्ष टर्कीका सुरक्षा एकाइहरूलाई गरिने योजना रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।