ड्वार्फ प्लानेट्स अर्थात् ‘पुड्के ग्रह’हरु वास्तवमा के हुन्? ब्रह्माण्डमा कति छन्?

  • Technology Khabar | २३ असार २०८२, सोमबार
ड्वार्फ प्लानेट्स अर्थात् ‘पुड्के ग्रह’हरु वास्तवमा के हुन्? ब्रह्माण्डमा कति छन्?

काठमाडौं ।

सन् २००६ मा प्लुटो अर्थात् यमलाई ग्रहबाट हटाएर ‘पुड्के’ ग्रहको रूपमा वर्गीकृत गरियो। आज पनि प्लुटो सबैभन्दा चर्चित ‘पुड्के’ ग्रह हो, तर सौर्यमण्डलमा अरू पनि ‘पुड्के’ ग्रहहरू छन् — र वैज्ञानिकहरूका अनुसार सयौं, सम्भवत: हजारौं यस्ता वस्तुहरू अझै पत्ता लाग्न बाँकी छन्।

‘पुड्के’ ग्रह भनेको के हो?

‘पुड्के’ ग्रह सौर्यमण्डलको यस्तो आकाशीय वस्तु हो जुन ग्रहभन्दा सानो तर क्षुद्रग्रह वा साना पत्थरहरूभन्दा ठूलो हुन्छ। ग्रहको रूपमा मानिनका लागि तीनवटा मापदण्ड आवश्यक हुन्छन्:

१. सूर्यको परिक्रमा गर्ने,
२. आकारमा लगभग गोलो हुने,
३. आफ्नो कक्षबाट अरू ठूला वस्तु हटाउने गुरुत्वाकर्षण शक्ति हुने।

प्लुटो र अरू केही ‘पुड्के’ ग्रहहरूले पहिलो दुई मापदण्ड त पूरा गर्छन्, तर तेस्रो मापदण्ड पूरा गर्दैनन्। तिनीहरू नेप्च्यूनपछिको ‘कुइपर बेल्ट’ नामक क्षेत्रमा कक्षमा छन्, जहाँ साना हिउँका टुक्रा र ढुंगाहरूको अत्यधिक उपस्थिति छ।

प्लुटो सन् १९३० मा पत्ता लाग्दा त्यो यति टाढा र मधुरो देखिन्थ्यो कि अत्याधुनिक दूरबीनहरूबाट पनि सजिलै देखिँदैनथ्यो। वास्तवमा ‘पुड्के’ ग्रहको विशेषता नै त्यस्ता वस्तुहरू पत्ता लगाउन गाह्रो बनाउने खालका हुनु हो।

यूसीएलएका खगोलशास्त्री म्याथ्यु युले इमेलमार्फत भने, “यी वस्तुहरू सूर्यबाट धेरै टाढा छन्, त्यसैले तिनबाट परावर्तित हुने प्रकाश निकै कमजोर हुन्छ। केही वस्तुहरू कम प्रकाश परावर्तित गर्ने खालका हुन्छन्, जसले गर्दा अझै गाह्रो हुन्छ।”

“साथै, यिनको सूर्यको वरिपरिको परिक्रमा सयौं वर्ष लाग्ने भएकाले आकाशमा सर्ने गती पनि निकै ढिलो हुन्छ। यसैले सीमित समयको अवलोकन हुने खगोलशास्त्रीका लागि यस्ता वस्तु पत्ता लगाउन गाह्रो हुन्छ,” उनले थपे।

बढ्दो खोज र नयाँ वर्गीकरण

१९९० र २००० को दशकमा दूरबीन प्रविधिमा भएको प्रगतिको कारण कुइपर बेल्टमा रहेका वस्तुहरू सजिलै देखिन थाले।

२००२ देखि २००५ सम्ममा खगोलशास्त्रीहरूले सातवटा विशेष रूपले ठूला वस्तुहरू पत्ता लगाए: हाउमेआ, माकेमेके, क्वाओआर, सेडना, ओर्कस, एरिस र सलासिया।

अन्तर्राष्ट्रिय खगोल संघ (आईएयू) ले सन् २००६ मा यी वस्तुहरूलाई नयाँ वर्गीकरण ‘’पुड्के’ ग्रह’ अन्तर्गत राख्ने निर्णय गर्‍यो।

अहिले कति ‘पुड्के’ ग्रह छन्?

आईएयूले हालसम्म पाँच ‘पुड्के’ ग्रहहरूलाई औपचारिक मान्यता दिएको छ:
१. प्लुटो
२. हाउमेआ
३. माकेमेके
४. एरिस — (यी सबै कुइपर बेल्टमा)
५. सेरेस — (यो एस्ट्रोइड बेल्टमा पर्छ)
नासाका अन्तरिक्ष यानले यीमध्ये दुई ‘पुड्के’ ग्रहहरूको भ्रमण गरिसकेका छन्। न्यु होराइजन्सले सन् २०१५ मा प्लुटोको उडान अवलोकन गर्यो। डनले त्यही वर्ष सेरेसमा पुग्यो।

तर खगोलशास्त्रीहरूले थप चारलाई पनि ‘पुड्के’ ग्रह मान्ने गर्छन्:
६. क्वाओआर
७. सेडना
८. ओर्कस
९. गोङगोङ २००७ मा पत्ता लागेको र सन् २०१६ मा नासाको डेटा प्रयोग गरी पुष्टि गरिएको।

त्यस्तै, हालै जुन २०२५ मा वैज्ञानिकहरूले नयाँ सम्भावित ‘पुड्के’ ग्रह २०१७ ओएफ२०१ प्रस्ताव गरेका छन्, जुन पुरानो डाटा र नयाँ एल्गोरिदम प्रयोग गरेर फेला पारिएको हो।य

यसरी हेर्दा हालसम्म प्रस्तावित र पुष्टि भएका सबैलाई गन्दा कम्तीमा १८ वटा ‘पुड्के’ ग्रहहरू छन्। तर यो संख्या भविष्यमा दर्जनौं, सयौं वा हजारौं मा पुग्न सक्ने सम्भावना छ, किनभने सौर्यमण्डलका दुर्गम भागहरूमा अझै धेरै मधुरो र लुकेका वस्तुहरू छन्, जसलाई नयाँ शक्तिशाली दूरबीनहरूले मात्रै देख्न सक्ने लाइभसाइन्सले उल्लेख गरेको छ।

प्रकाशित: २३ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...