
काठमाडौं ।
यस वर्षको पहिलो त्रैमासिक (जनवरीदेखि मार्च अवधि) मा ह्वावेले १ करोड ढुवानीका साथ विश्वव्यापी वेयरेबल्स बजारको नेतृत्व गरेको छ। साथै कम्पनीले २१.९ प्रतिशत बजार हिस्सा ओगटेको आईडीसी चीनको नयाँ रिपोर्टले उल्लेख गरेको छ।
यो एक वर्ष अघिको त्रैमासिकको तुलनामा ४२.४ प्रतिशत वृद्धि भएको बताइएको छ। एक वर्ष अघिको त्रैमासिकमा कम्पनीले ७० लाख युनिटहरू ढुवानी गरेको र बजारको १७ प्रतिशत हिस्सा ओगटेको थियो।
त्यसैगरी शाओमी ८७ लाख ढुवानी र १९ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा रहेको छ। शाओमीले वार्षिक रूपमा सबैभन्दा ठूलो ४२.६ प्रतिशतको वृद्धि गरेको छ। गत वर्ष कम्पनीले ६१ लाख ढुवानीको साथ १४.७ प्रतिशत बजार हिस्सा ओगटेको थियो।
एप्पल भने ७० लाख ढुवानी र १५.५ प्रतिशत बजार हिस्साको साथ मात्र तेस्रो स्थानमा छ। सन् २०२४ को पहिलो त्रैमासिकको ५१ लाख ढुवानी र १२.५ प्रतिशत बजार हिस्साको प्रदर्शनबाट ३७.२ प्रतिशतले वृद्धि गरेको जनाइएको छ।
सामसङ ३४ लाख ढुवानी र ७.५ प्रतिशत हिस्सासहित चौथो स्थानमा छ र यसको बिक्री अघिल्लो त्रैमासिकको तुलनामा ५.७ प्रतिशतले घटेको छ। कम्पनीले अघिल्लो त्रैमासिकमा ८.८ प्रतिशत बजार हिस्साका लागि ३६ लाख ढुवानी व्यवस्थापन गरेको थियो।
शीर्ष पाँचमा गार्मिन पनि पर्न सफल भएको छ जसले २.१ मिलियन ढुवानी र ४.७ प्रतिशत बजार हिस्सा ओगटेको छ। यसको अघिल्लो त्रैमासिकको १.६ मिलियन ढुवानी र ४ प्रतिशत बजार हिस्साबाट २९.५ प्रतिशतले वृद्धि भएको छ।
यस वर्षको पहिलो त्रैमासिकमा बजारले समग्रमा ४५.६ मिलियन युनिट ढुवानी भएको छ, जसमध्ये ३४.८१ मिलियन युनिट स्मार्टवाच र १०.७६ मिलियन स्मार्ट ब्यान्ड थिए। समग्रमा बजार सन् २०२४ को पहिलो त्रैमासिकमा ४१.२ मिलियनबाट १०.५ प्रतिशतले बढेको छ।
उक्त ४५.६ मिलियन युनिटमध्ये १७.६२ मिलियनले चिनियाँ बजारको प्रतिनिधित्व गर्दछ भने वर्षिक रुपमा ३७.६ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ। चीनको स्मार्टवाच बजारले ११.४ मिलियन युनिट ढुवानी गरेको छ जुन वर्षिक रुपमा २५.३ प्रतिशतले बढेको बताइएको छ। साथै यसको स्मार्ट ब्यान्ड बजारले ६.२१ मिलियन युनिट ढुवानी गर्दै ६७.९ प्रतिशतले वृद्धि हासिल गरेको छ।
चीनमा देखिएको यो वृद्धि सबै चिनियाँ सरकारको राष्ट्रिय अनुदान योजनाबाट संचालित भएको बताइएको छ भने यसले चीनको वेयरेबल्स बजारमा वृद्धिलाई निरन्तर बढावा दिने उल्लेख गरिएको छ। सन् २०२५ को पूर्ण–वर्षको संख्या सन् २०२४ को तुलनामा ३६.९ प्रतिशत बढी हुने आईडीसीको अनुमान रहेको जीएसएमएरिले उल्लेख गरेको छ।
प्रकाशित: ३० जेष्ठ २०८२, शुक्रबार