Technology Khabar २० जेष्ठ २०८२, मंगलवार
काठमाडौं ।
पछिल्ला पाँच वर्षमा पृथ्वीको कक्षमा रहेका उपग्रहहरूको सङ्ख्या दोब्बरभन्दा बढी भइसकेको छ — र स्पेसएक्सजस्ता निजी कम्पनीहरूको सक्रियताका कारण यो संख्या फेरि दोब्बर हुने सम्भावना छ।
यी उपग्रहहरूले महत्वपूर्ण लाभहरू दिन सक्ने भए पनि वैज्ञानिकहरूले पछिल्लो समयमात्र थाहा पाउन थालेका धेरै जसो समस्याहरू पनि यिनै कारणले बढ्दै गएका छन्।
अब प्रश्न उठ्छ — आउँदा दशकहरूमा हामी कति उपग्रहहरू देख्न सक्नेछौं? र अझ महत्वपूर्ण — कतिसम्म उपग्रहहरू ‘धेरै’ हुन्छन्?
२०२५ मे सम्ममा पृथ्वीको कक्षामा करिब ११,७०० सक्रिय उपग्रहहरू छन्, जसमा सैन्य गुप्तचर, वैज्ञानिक अन्वेषणदेखि लिएर तीव्र गतिमा बढिरहेको निजी उपग्रह नेटवर्कहरू सम्म पर्छन्। र प्रत्येक वर्ष अन्तरिक्षमा पठाइने यानहरूको संख्या तीव्र गतिमा बढिरहेको लाइभसाइन्सले उल्लेख गरेको छ।
सबैभन्दा ठूलो योगदान भने स्पेसएक्सको स्टारलिंक कन्स्टेलेसनले दिएको छ — जुन हाल करिब ७,५०० सक्रिय उपग्रहहरू सहित, कुल सञ्चालनमा रहेका सबै उपग्रहहरूको ६० प्रतिशत भन्दा बढी हो। यी सबै उपग्रहहरू मे २०१९ पछिमात्र प्रक्षेपण गरिएको हो।
तर स्पेसएक्स मात्र नभई अन्य कम्पनीहरूले पनि आफ्नै “मेगाकन्स्टेलेशन” निर्माण गरिरहेका छन्, जस्तैअमेजनको प्रोजेक्ट कुइपर र चीनको थाउजेण्ड सेल्स योजना।
साथै स्पेसएक्सको फाल्कन ९ जस्ता पुनःप्रयोग गर्न मिल्ने रकेटहरूले प्रक्षेपण सजिलो बनाइरहेका छन्। केही कम्पनीहरू त सयौं उपग्रहहरू एकै पटक प्रक्षेपण गर्न ‘विशाल घुम्ने तोप’ जस्ता वैकल्पिक प्रविधिको प्रयोगको तयारीमा छन्।
कति पुग्न सक्छ उपग्रहहरूको संख्या?
युनिभर्सिटी अफ डर्हामकी वरिष्ठ शोधकर्ता फिओना थमसनका अनुसार, मेगाकन्स्टेलेशनले पृथ्वीको अधिकांश सतह ढाक्ने योजना बनाएका छन्,” तर यिनको आकार कति ठूलो हुनेछ र प्रभाव कति गहिरो पर्छ भन्नेमा अझै पनि “धेरै अनिश्चितता” रहेको छ।
युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाका खगोलशास्त्री आरोन बोलीले बताएअनुसार, कम्पनीहरूले आफ्ना योजनाहरू बारम्बार परिवर्तन गर्छन् — केही प्रस्तावित प्रणालीहरू कहिल्यै कार्यान्वयन हुँदैनन्, तर धेरैजसो हुन्छन्।
बोलीद्वारा सह-लेखन गरिएको २०२३ को एउटा अध्ययन अनुसार, लगभग १० लाख निजी उपग्रह (करिब ३०० वटा मेगाकन्स्टेलेसनहरूबाट) प्रक्षेपणका लागि आईटीयूमा प्रस्ताव गरिएको छ। यद्यपि तीमध्ये केही जस्तै रवाण्डाको ३,३७,००० उपग्रहहरूको प्रस्ताव, व्यवहारिक नहुन सक्छन्।
यत्रो संख्या? तर सधैँ कक्षमै रहँदैनन्
धेरैजसो निजी उपग्रहहरूको आयु छोटो हुने भएकाले ती कक्षमा स्थायी रूपमा रहँदैनन्। उदाहरणका लागि, एउटा स्टारलिंक उपग्रहको औसत जीवनकाल करिब ५ वर्ष हुन्छ — त्यसपछि ती पृथ्वीमा फर्किएर वायुमण्डलमा जलेर नष्ट हुन्छन्। त्यसैले, १० लाख उपग्रहहरू प्रस्ताव भए पनि ती सबै एकैपटक कक्षामा रहने होइनन्।
कति उपग्रहसम्म सम्भव?
वैज्ञानिकहरूले पृथ्वीको सतहबाट करिब २,००० किलोमिटरसम्म फैलिएको क्षेत्र लो अर्थ अर्बिटमा अधिकतम १,००,००० सक्रिय उपग्रहहरू अटाउने सीमा रहेको अनुमान गरेका छन्।
यदि यो संख्या पार गरिएमा भने उपग्रहहरूबीच टक्कर हुन थाल्छ — जसको असर घातक हुन सक्छ।
यो सीमा कहिले पुग्ला?
यसबारे अझै यकिन त छैन, तर वर्तमान प्रवृत्तिको आधारमा, धेरै विशेषज्ञहरूका अनुसार यो सीमा सन् २०५० भन्दा अगावै पुग्न सक्छ।
लाइभसाइन्सका अनुसार यसले वैज्ञानिक अनुसन्धान, खगोल अध्ययन, र भविष्यको अन्तरिक्ष नीति निर्माणका लागि गम्भीर चुनौती खडा गर्नेछ — विशेष गरी जब हामी ‘शान्त’ र ‘अँध्यारो’ आकाश गुमाउँदै जान्छौं।
प्रकाशित: २० जेष्ठ २०८२, मंगलवार