पर्यटकलाई सहज बनाउन सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा ध्यान दिन आवश्यक: सञ्चारमन्त्री गुरुङ

Technology Khabar ११ जेष्ठ २०८२, आईतवार

पर्यटकलाई सहज बनाउन सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा ध्यान दिन आवश्यक: सञ्चारमन्त्री गुरुङ
सञ्चारमन्त्री गुरुङ काठमाडौँ, ११ जेठः गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आइतबार भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक फोटो प्रदर्शनी समारोहमा मन्तव्य राख्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन क्षेत्र मुलुकको समृद्धिको मूल आधार रहेको र पर्यटकलाई सहज बनाउन टेलिफोन, इन्टरनेट र एआइजस्ता सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा आवश्यक बजेटसहित ध्यान दिन आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवसका अवसरमा ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक शीर्षकमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा आयोजना गरको फोटो प्रदर्शनीको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका छन्।

कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि आवश्यक दिगो एवं स्पष्ट सोचसहित समन्वय र सहकार्यको अभाव रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउँदै जनताले महसुस गर्नेगरी कामकाज गर्न सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए।

अहिलेको झन्झटिलो नियम, कानुन र कार्यप्रणालीबाट विकास, समृद्धि र सुशासन सम्भाव नहुने धारणा व्यक्त गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पुराना नियम–कानुनमा सुधार गरी समन्वयत्मक ढङ्गबाट छिटोछरितो ढङ्गबाट प्रभावकारी सेवा प्रवाह गर्ने पक्षमा सरकार क्रियाशील रहेको बताए।

कृषि, पर्यटनलगायतका अधिकांश क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा प्रत्यक्ष जोडिएको सूचना प्रविधिको क्षेत्रले उच्च प्राथमिकता पाउनुपर्नेमा नगन्य बजेट विनियोजन हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले आवश्यक बजेट व्यवस्थाका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको ध्यान जानुपर्नेमा उनले जोड दिए।

“पर्यटन हाम्रो मुलुकको समृद्धिको महत्त्वपूर्ण क्षेत्र हो तर, त्यसअनुसार राष्ट्रिय योजनाहरू बन्न सकेका छैनन्”, उनले भने, “हाम्रो मुलुकको आवश्यकता बुझेर योजनाहरू बनाउनुपर्छ।”

पूर्व पर्यटन मन्त्रीसमेत रहेका सञ्चारमन्त्री गुरुङले समन्वयतामत्क ढङ्गबाट आधुनिक सूचना प्रविधिको सदुपयोग गरी पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा दुवै मन्त्रालयबीच सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए।

नेपालमा पर्यटकको मूल आकर्षण भनेको हिमाल र गौतमबुद्ध जन्मस्थल लुम्बिनी रहेको बताउँदै मन्त्री गुरुङले यी दुई सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकारले प्राथमिकता दिनुपर्ने मन्त्री गुरुङले प्रष्ट पारे।

साथै उनले कुरा र भाषणले मात्र समृद्धि नआउने भएकाले अब कम बोल्ने धेरै काम गर्ने संस्कृतिको थालनी गर्नुपर्ने बताए। “हामीले कम बोल्ने र धेरै काम गर्ने संस्कृति थालनी गर्नुपर्छ”, उनले भने।

थोरै लगानीमा धेरै उपलब्धि हासिल गर्न सकिने क्षेत्र पर्यटन हो। मन्त्री गुरुङले पर्यटन देशको समृद्धिका लागि महत्त्वपूर्ण क्षेत्र रहेको बताउँदै इमानदार भएर यसको प्रवर्द्धनमा काम गर्नसमेत आग्रह गरे।

उनले राष्ट्रिय समाचार समितिले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको फोटो प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: ११ जेष्ठ २०८२, आईतवार

तपाइको प्रतिक्रिया