Technology Khabar ११ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
यस वर्षको जनवरी १ देखि मार्च ३१ सम्मको अवधिमा कुल ४ करोड ६६ लाख वेयरेबल ब्याण्ड डिभाइसहरू ढुवानी गरिएको र बजार वार्षिक रूपमा १३ प्रतिशतले वृद्धि भएको क्यानालिसले रिपोर्ट गरेको छ। स्मार्ट ब्याण्ड र स्मार्टवाचहरूलाई समूहबद्ध गर्ने पछिल्लो रिपोर्टहरूले ८७ लाख ढुवानी र १९ प्रतिशत बजार हिस्साको साथ शाओमीलाई विश्वको शीर्ष विक्रेताको रूपमा देखाएको उल्लेख गरिएको छ।
शाओमीले आफ्नो स्मार्ट ब्याण्ड र वाच सिरिजको अपडेटको साथमा थप किफायती रेडमी सिरिज प्रोडक्टहरू पनि प्रस्तुत गरेपछि ब्राण्डले (शाओमीले) ढुवानीमा प्रभावशाली ४४ प्रतिशत वार्षिक वृद्धि देखेको बताइएको छ। विशेष गरी, रेडमी ब्याण्ड ५ पहिलो त्रैमासिकमा सबैभन्दा धेरै बिक्री हुने वेयरेबल डिभाइसहरू मध्ये एक भएको उल्लेख गरिएको छ।
एप्पल अनुमानित ७६ लाख ढुवानी र १६ प्रतिशत बजार हिस्साको साथ दोस्रो स्थानमा रहन सफल भएको छ। ह्वावेको वाच जीटी र वाच फिट सिरिज डिभाइसहरूको बलियो मागको कारण ब्राण्ड ७१ लाख ढुवानी र १५ प्रतिशत बजार हिस्साको साथ तेस्रो स्थानमा आएको छ।
सामसङले ४९ लाख वेयरेबलहरू ढुवानी गरेको र उदीयमान बजारहरूमा भएको बलियो वृद्धिको कारणले गर्दा ११ प्रतिशत बजार हिस्सा कमाएको छ। गार्मिनले आफ्नो १.८ मिलियन ढुवानी र ४ प्रतिशत बजार हिस्साका साथ शीर्ष पाँचभित्र स्थान बनाएको छ।
क्यानालिसले स्मार्टवाच किन्दा प्रयोगकर्ताहरूले विचार गर्ने कारकहरूमा युरोपमा उपभोक्ता अध्ययन पनि सञ्चालन गरेको छ। उपभोक्ताहरूका लागि मूल्य र ब्याट्री जीवन दुई सबैभन्दा महत्त्वपूर्ण कारकहरू भएको बताइएको छ। साथै स्मार्ट वेयरेबल छनौट गर्दा हेल्थ–ट्र्याकिङ फिचर्स, ब्राण्डको नाम र डिजाइन अन्य मुख्य कारकहरू भएको उल्लेख गरिएको छ। खेलकुद सुविधाहरू भने कम महत्त्वपूर्ण निर्णय कारकहरू मध्ये एक भएको जनाइएको छ।
वेयरेबल बजारमा इकोसिस्टम एकीकरण र पोस्ट–पर्चेज सर्भिसेस (खरिद पछि सेवाहरू) प्रतिस्पर्धाको अग्रणी क्षेत्रहरू रहने क्यानालिसले भविष्यवाणी गरेको छ। सदस्यता–आधारित मोडेलहरू प्रयोगकर्ता संलग्नता र ब्राण्ड राजस्व (आम्दानी) ड्राइभ गर्ने महत्वपूर्ण पक्ष हुनेछन् भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ११ जेष्ठ २०८२, आईतवार