एप्पल विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड, गुगल र माइक्रोसफ्टले पछ्याउँदै: कान्टार

Technology Khabar ५ जेष्ठ २०८२, सोमबार

काठमाडौं ।

कान्टारको ब्रान्डजेड रिपोर्टले सन् २०२५ को लागि एप्पललाई विश्वको सबैभन्दा मूल्यवान ब्राण्डको रूपमा घोषणा गरेको छ। कुपर्टिनोमा आधारित कम्पनीको मूल्य अब १.२९ ट्रिलियन अमेरिकी डलर पुगेको छ भने यसले कम्पनीको ब्राण्ड मूल्यमा २८ प्रतिशतको वार्षिक वृद्धि गरेको छ।

कान्टारले ब्राण्ड मूल्यहरू गणना गर्न स्वामित्वको तीन–चरण प्रक्रिया प्रयोग गर्दछ, जसको परिणामस्वरूप आंकडा उपभोक्ता धारणा र वित्तीय प्रदर्शनमा आधारित हुने उल्लेख गरेको छ।

एप्पल लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा मूल्यवान ब्रान्ड बन्न सफल भएको छ र १ ट्रिलियन डलर ब्रान्ड भ्यालू चिन्ह पार गर्ने पहिलो कम्पनी बनेको उल्लेख गरिएको छ। गुगल (९४४.१ बिलियन डलर) र माइक्रोसफ्ट (८८४.८ बिलियन डलर) को साथ मूल्यको आधारमा शीर्ष–तीन ब्रान्डहरू भित्र पर्न सफल भएको छ। त्यसैगरी अमेजन (८६६.१ बिलियन अमेरिकी डलर) र एनभिडिया (५०९.४ बिलियन अमेरिकी डलर) को साथ शीर्ष पाँचमा परेका छन्।

ह्वावे सूचीमा ३९औं स्थानमा र क्वालकमको स्न्यापड्रागन ब्रान्ड ३८औं स्थानमा रहेको छ।

सामसङ भने ७८औं स्थानमा झरेको छ र शाओमी ९६औं स्थानमा रहेको छ। यस वर्ष ब्राण्ड मूल्यमा एनभिडिया, ह्वावे, शाओमी र इन्स्टाग्राम शीर्ष वृद्धिकर्ताहरू मध्ये बन्न सफल भएका छन् भने प्रत्येकले १०० प्रतिशत भन्दा बढी ब्रान्ड मूल्य वृद्धि हासिल गरेका छन्।

त्यसैगरी ओपनएआईको च्याटजीपीटी ६०औं स्थानमा रहेको छ। भारतको एयरटेल सबैभन्दा छिटो बढ्दो टेलिकम ब्राण्ड बनेको छ। कान्टारको पछिल्लो रिपोर्टले विश्वव्यापी शीर्ष १०० ब्रान्डहरूको मूल्य अब संयुक्त रूपमा १०.७ ट्रिलियन अमेरिकी डलर पुगेको अनुमान गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ५ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया