Technology Khabar २५ बैशाख २०८२, बिहीबार
काठमाडौं ।
अमेजन वेब सर्भिसेस (एडब्लूएस) ले “किरो” नामको एआई-सञ्चालित नयाँ कोड जेनेरेशन टुल निर्माण गरिरहेको बिजनेस इन्साइडरले आन्तरिक कागजातहरू उद्धृत गर्दै रिपोर्ट गरेको छ।
रिपोर्ट अनुसार यो टुलले प्रयोगकर्ताको निर्देशन (प्रम्प्ट) र पहिलेको डाटाको आधारमा एआई एजेन्टहरूसँग जडान भएर “लगभग वास्तविक समयमै” कोड उत्पन्न गर्न सक्छ। किरोलाई वेब र डेस्कटप एपमार्फत चलाउन सकिनेछ, यसमा मल्टिमोडल क्षमता हुनेछ र तेस्रो पक्षका एआई एजेन्टहरूसँग पनि मिलाएर काम गर्न मिल्ने बनाइएको छ।
टेकक्रञ्चका अनुसार किरोले प्रविधि डिजाइनसम्बन्धी कागजात तयार गर्न, सम्भावित समस्याहरू पहिचान गर्न र कोडलाई अझ राम्रो बनाउन सक्ने रिपोर्टमा उल्लेख छ।
अमेजनसँग पहिलेबाट नै गिटहब कोपायलट जस्तै एआई-सञ्चालित कोडिङ सहायक ‘क्यूडेभलपर’ नामक टुल छ। अमेजनले किरोलाई जुनको अन्त्यतिर सार्वजनिक गर्ने विचार गरिरहेको थियो, तर यो योजना परिवर्तन हुनसक्ने बिजनेस इन्साइडरको भनाइ छ।
हाल एआई-सञ्चालित कोडिङ टुलहरू प्रविधिको क्षेत्रमा निकै लोकप्रिय छन्। कर्सर निर्माता एनिस्फियरले ९ अर्ब डलर मूल्याङ्कनमा लगानी पाएको जनाइएको छ। उसकै प्रतिस्पर्धी विण्डसर्फलाई ओपनएआईले करिब ३ अर्ब डलरमा किन्ने तयारी गरिरहेको खबर छ।
प्रकाशित: २५ बैशाख २०८२, बिहीबार