सामाजिक सञ्जाल सेवा प्रदायकलाई सरकारले पुनः दियो चेतावनी, दर्ता नगरे नेपाल भित्र निस्क्रिय गराइने

  • Technology Khabar | २२ बैशाख २०८२, सोमबार
सामाजिक सञ्जाल सेवा प्रदायकलाई सरकारले पुनः दियो चेतावनी, दर्ता नगरे नेपाल भित्र निस्क्रिय गराइने
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

सरकारले फेरी एक पटक सूचीकरण नभएका सामाजिक सञ्जाल सेवा प्रदायकहरुलाई बन्द गर्ने चेतावनी सहितको सूचना जारी गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफ्नो वेबसाइटमार्फत आधिकारीक स्ट्याम्प र हस्ताक्षर मिति समेत नभएको सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सूचीकरण/दर्ता नहुने सबै सामाजिक सञ्जालहरू क्रमश: नेपाल भित्र निस्कृय गराइने चेतावनी दिएको हो।

यसका साथै सूचीकरण दर्ता गरेमा सोही क्षणबाट पुनः सक्रिय गराईने समेत सूचनामा भनिएको छ।

यसअघि मन्त्रालयले ३० दिने म्यादसहित सूचीकरणका लागि आउन सबै सामाजिक सञ्जाल प्लेटफर्महरुलाई आव्हान गरेको थियो। तर सो अवधिमा कुनै पनि सामाजिक सञ्जाल सूचीकरणमा नआएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले २०८१ माघ २१ गते गोरखापत्र राष्ट्रिय दैनिक र द राइजिङ्ग नेपालमा सूचना प्रकाशन गरी सूचीकरणको लागि आह्वान गरिएको र अन्तिम पटक २०८१ चैत ७ गते सूचीकरणको लागि ३० दिनको समयावधि दिई पुन: सूचना प्रकाशित गरेको थियो।

मन्त्रालयले भनेको छ, “यस अवधिसम्म पनि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम थप कुनैपनि सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालकहरू मन्त्रालयमा सूचीकृत हुन नआएको जानकारी गराउँदछौं।”

मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को आधारमा सामाजिक सञ्जाल प्रयोगकर्ताले निर्वाध रूपमा सामाजिक सञ्जालको प्रयोग गरून् र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालनकर्ताले निर्देशिकाले तोकेको विधि-प्रकृया अनुरूप आ-आफ्नो प्लेटफर्म सञ्चालन गरून् भन्ने अपेक्षा राखेको छ।

“तसर्थ, सामाजिक सञ्जाल फ्लेटफर्म सञ्चालक तथा प्रयोगकर्ता दुबैको हितलाई मध्यनजर राख्दै कसैलाई असुविधा नहोस् भन्नेमा सजग रही मन्त्रालय आ-आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ऐ. निर्देशिका बमोजिम दर्ता/ सूचीकरण गर्नुहुन सञ्चालनकर्तालाई पुन: अनुरोध गर्दछ।” सूचनामा भनिएको छ।

sm_ccl1opa

प्रकाशित: २२ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार