नासाले चन्द्रमामा हिउँ खोज्न पठाएको लुनर ट्रेलब्लेजरको स्याटेलाइट सम्पर्क गराउने प्रयास जुन महिनासम्म जारी राख्ने

  • Technology Khabar | २२ बैशाख २०८२, सोमबार
नासाले चन्द्रमामा हिउँ खोज्न पठाएको लुनर ट्रेलब्लेजरको स्याटेलाइट सम्पर्क गराउने प्रयास जुन महिनासम्म जारी राख्ने

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रयान मिशनमा पानीको बरफ खोज्ने उद्देश्यले पठाएको लुनर ट्रेलब्लेजर स्याटेलाइटसँग सम्पर्क पुन: स्थापना गर्न आगामी जुन महिनाको मध्यसम्म प्रयास जारी राख्ने जनाएको छ।

अप्रिल ३० मा जारी विज्ञप्तिमा नासाले मे महिनादेखि जुनको मध्यसम्मको अवधिमा लुनर ट्रेलब्लेजर स्याटेलाइटले पर्याप्त ऊर्जा उत्पादन गर्न सक्ने र रेडियो पुनः सक्रिय हुने सम्भावना भएकाले त्यस अवधिमा स्याटेलाइटसँग पुन: सम्पर्क स्थापित गर्न सकिने आशा व्यक्त गरेको हो।

यो सानो स्याटेलाइट फेब्रुअरी २६ मा स्पेसएक्सको फाल्कन ९ रकेटबाट इन्टुइटिभ मेशिन्सको आईएम-२ ल्याण्डरसँगै दोस्रो पेलोडका रूपमा प्रक्षेपण गरिएको थियो। तर प्रक्षेपण भएको करिब १२ घण्टाभित्रै स्याटेलाइटसँग सम्पर्क टुटेको थियो र त्यसको भोलिपल्ट केही समयको लागि मात्रै सम्पर्क स्थापित भएको थियो।

नासाका अनुसार स्याटेलाइट “सुस्त गतिमा घुमिरहेको र कम उर्जाको अवस्थामा रहेको” निष्कर्ष निकालिएको छ, जसका कारण न त सम्पर्क सम्भव भएको छ न त चन्द्रमाको कक्षमा प्रवेश गर्न आवश्यक चालबिनाका प्रक्रिया गर्न सकिएको छ। यसअघि मार्च १२ मा गरिएको अद्यावधिक जानकारीमा नासाले लुनर ट्रेलब्लेजर को मूल वैज्ञानिक मिशन अब सम्भव नरहेको जनाए पनि विकल्प स्वरूप अन्य किसिमका मिशनहरूबारे सोच्न सकिने भनेको थियो।

“हामीले पृथ्वीबाट गरिएको खगोलशास्त्रीय अवलोकनको आधारमा लुनर ट्रेलब्लेजरको स्थिति पत्ता लगाएका छौं, र ती अवलोकनकै आधारमा यसको घुमाई र दिशातर्फको झुकावको मोडेल बनाउन सकिन्छ,” नासाको ग्रहसम्बन्धी विज्ञान विभागकी निर्देशक लुइस प्रोक्टरले अप्रिल ३० मा मार्स एक्स्प्लोरेशन प्रोग्राम एनालिसिस ग्रुप (एमईपीएजी) को बैठकमा भनिन्। “अहिलेसम्म त सौर्य प्यानलमा पर्याप्त घाम परेको देखिँदैन।”

स्पेस डटकमका अनुसार आउँदो केही सातामा भने स्याटेलाइटको झुकाव परिवर्तन हुँदा सौर्य प्यानलमा पर्याप्त घाम पुग्न सक्ने र त्यसले ब्याट्री चार्ज गर्दै रेडियो अन हुने सम्भावना रहेको उनले बताइन्।

“यदि त्यो भयो भने हामी सम्पर्क गर्न सक्छौं, आदेश दिन सक्छौं, र अझै पनि वैज्ञानिक कक्षमा पुर्‍याएर चन्द्रमाको वरिपरि धेरै वैज्ञानिक अध्ययन गर्न सक्ने आशा बाँकी छ।”

तर उनले यो प्रयास “अत्यन्तै कठिन” रहेको स्वीकार गरिन्। “हामीले गरिरहेको प्रयास निकै जटिल छ, तर मिशन अपरेसन टोलीले अझै पनि नासाको डीप स्पेस नेटवर्कलाई समर्थन गर्ने विश्वव्यापी एन्टेना नेटवर्क प्रयोग गरेर स्याटेलाइटको संकेत खोजिरहेकै छ।”

यदि स्याटेलाइटसँग सम्पर्क पुन: स्थापित गर्न सकियो भने, एजेन्सीले मूल मिशनको कुनै संस्करण सम्भव छ कि छैन भनेर मूल्यांकन गर्न निरन्तरता/खारेजी समीक्षा गर्ने नासाले विज्ञप्तिमा भनेको छ। तर यदि जुन महिनाको मध्यसम्म सम्पर्क सम्भव भएन भने “नासा ले यो मिशन बन्द गर्ने प्रक्रिया अघि बढाउनेछ।”

“हामी अझै आशावादी छौं, तर अहिलेको अवस्थामा फेरि सम्पर्क गर्न सकिने सम्भावना कम देखिएको छ,” प्रोक्टरले निष्कर्ष सुनाइन्।

नासा ले अप्रिलको अन्त्यतिर लुनर ट्रेलब्लेजर स्याटेलाइटमा देखिएको समस्याको जड कारण पत्ता लगाउन स्वतन्त्र समीक्षात्मक बोर्ड गठन गरेको छ। उक्त बोर्डले भविष्यका मिशनहरूका लागि सिकाइका पक्षहरू पनि पहिचान गर्नेछ।

प्रकाशित: २२ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...