मेटाले रे–ब्यानको लागि स्क्रिन ग्लासेस तयार गर्दै
काठमाडौं ।
मेटाको रे–ब्यानको स्ट्याण्डर्ड (मानक) स्मार्ट ग्लासेसको अपत्यारिलो सफलता पछि कम्पनी अब बिल्ट–इन स्क्रिन भएको भर्सन (संस्करण)को साथ अर्को ठूलो कदम चाल्न तयार रहेको छ।
मेटाले “हाइपरनोभा” कोडनेम भएको इन्टिग्रेटेड स्क्रिनसहितको रे–ब्यान स्मार्ट ग्लासेसको नयाँ मोडेल विकास गरिहेको ब्लूमबर्गले रिपोर्टमा उल्लेख गरेको छ।
रे–ब्यान स्मार्ट ग्लासेसको हालको मोडेलमा स्क्रिन छैन, तर फोटो र भिडियोहरूको लागि बिल्ट–इन क्यामराहरूका साथै फोन कलहरूको लागि उपयुक्त स्पिकरहरू र माइक्रोफोनले सुसज्जित रहेको छ। मेटाले यो उन्नत मोडेल यस वर्षको सुरुमा प्रस्तुत गर्न सक्छ भनेर रिपोर्टले सुझाव दिएको छ।
स्क्रिन भएको मेटाको यो पहिलो स्मार्ट ग्लासेस हुनेछ भने यसको मूल्य पनि कम उच्च हुने बताइएको छ। मेटा कर्मचारीहरूको अनुमान अनुसार, यी स्मार्ट ग्लासेसको मूल्य १,००० अमेरिकी डलरबाट सुरु हुने उल्लेख गरिएको छ र कन्फिगरेसनको आधारमा यो १,३०० अमेरिकी डलर वा १,४०० अमेरिकी डलर सम्म जान सक्छ भनि एन्ड्रोइड हेडलाइन्सले रिपोर्ट गरेको छ।
रे–ब्यान स्मार्ट ग्लासेसको हालको मोडेलको मूल्य २९९ अमेरिकी डलर रहेको छ।
हालको ग्लासेसको सफलताको एउटा कारण भनेको तिनीहरूको किफायती मूल्य पनि हुन सक्ने बताइएको छ। यस कुरालाई ध्यानमा राख्दै, मेटाले १,००० अमेरिकी डलरबाट सुरु हुने प्रोडक्टको साथ बिक्रीको समान स्तर कायम राख्नको लागि व्यवस्थापन गर्नेछ वा गर्दैन भनेर हेर्नलाई पर्खनु पर्ने टेलीग्राफले उल्लेख गरेको छ।