विद्युतीय भुक्तानी कारोबारमा वृद्धिले डिजिटल वित्तीय समावेशितालाई प्रवर्द्धन गरेको गभर्नर अधिकारीको भनाइ

  • Technology Khabar | २२ चैत्र २०८१, शुक्रबार
विद्युतीय भुक्तानी कारोबारमा वृद्धिले डिजिटल वित्तीय समावेशितालाई प्रवर्द्धन गरेको गभर्नर अधिकारीको भनाइ
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंकको विगत पाँच वर्षमा सम्पादित प्रमुख कार्य तथा उपलब्धीहरुबारे शुक्रबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा पत्रकार सम्मेलन गरी जानकारी गराउँनुहुँदै । तस्बिरः नवीन पौडेल/रासस

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यसै साता समाप्त हुँदैछ। यसै अवसरमा आज बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै गभर्नर अधिकारीले कोभिड महामारी, रुस–युक्रेन युद्ध तथा आपूर्ति सङ्कटका कारण उत्पन्न आर्थिक चुनौतीहरूको सामना गर्दै मौद्रिक नीतिमा सुधार गरी देशको आर्थिक स्थायित्व कायम गर्न सफल भएको बताएका छन्।

गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बाह्य क्षेत्रको दबाबलाई कम गर्न आवश्यक नीतिगत सुधार गरेकाले मुलुकको वित्तीय स्थायित्वलाई सबल बनाउन मद्दत पुगेको उल्लेख गरे।

पछिल्लो पाँच वर्षमा डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय वृद्धि भएको, मोबाइल बैंकिङ, क्युआर कोड भुक्तानी, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेटको प्रयोग उल्लेखनीय रूपमा बढेको उनको भनाइ थियो।

“आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०८०/८१ मा विद्युतीय भुक्तानी कारोबारमा दोब्बर वृद्धि भएको छ, जसले डिजिटल वित्तीय समावेशितालाई प्रवद्र्धन गर्न मद्दत गरेको छ”, उनले भने।

गभर्नर अधिकारीले डिजिटल कारोबारको वृद्धिसँगै केन्द्रीय बैंकले साइबर सुरक्षालाई पनि प्राथमिकतामा राख्दै आवश्यक नीतिगत तथा प्रविधिगत सुधारहरू अवलम्बन गरेको बताए।

वित्तीय प्रणालीलाई सुदृढ बनाउन अन्तरराष्ट्रिय अभ्यासअनुसारका नियमन तथा सुपरिवेक्षण विधि लागू गरिएको र बैंकिङ प्रणालीलाई डिजिटलाइजेसन तर्फ उन्मुख गराउने नीति अवलम्बन गर्दै वित्तीय संस्थाको साइबर सुरक्षामा विशेष ध्यान दिएको उनले उल्लेख गरे।

कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकद्धारा विगत पाँच वर्षमा सम्पादित प्रमुख कार्य तथा उपलब्धि समेटेर तयार परिएको पुस्तकसमेत सार्वजनिक गरेका थिए। रासस

प्रकाशित: २२ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...