
काठमाडौं ।
मार्केटिङ प्लेटफर्म एपलभिनले चीनबाहिरका टिकटक सम्पत्तिहरू खरिद गर्न प्रस्ताव दिएको बिहीबार घोषणा गरेको छ। अप्रिल ५ को समयसीमाभन्दा अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक का लागि गैर-चिनियाँ खरिदकर्ता खोज्न निर्देशन दिएका छन्। यो छोटो भिडियो एप १७ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताद्वारा प्रयोग भइरहेको छ।
एपलभिनले नियामक निकायमा दर्ता गराएको फाइलिङमा टिकटकका लागि गरिएको प्रस्ताव प्रारम्भिक चरणमा रहेको र यो सम्झौता अघि बढ्ने ग्यारेन्टी नभएको उल्लेख गरेको छ।
टिकटक बिक्रीको समयसीमा नजिकिँदै गर्दा खरिद प्रस्ताव दिने कम्पनीहरूको सङ्ख्या बढ्दै गएको छ। टिकटकले रोयटर्सको टिप्पणी अनुरोधमा तुरुन्तै प्रतिक्रिया दिएको छैन।
“यदि टिकटक एपलभिनको स्वामित्वमा आएमा यसले कम्पनीलाई विश्वव्यापी विज्ञापन क्षेत्रमा ठूलो शक्ति दिनेछ। तर नियामकीय र भू-राजनीतिक जटिलता लगानीकर्ताहरूका लागि महत्त्वपूर्ण कारक रहन्छ,” रनिङ प्वाइण्ट क्यापिटलका प्रमुख लगानी अधिकृत माइकल एश्ले शुलम्यानले भने।
अमेजन र वन्लीफ्यान्सका संस्थापक टिम स्टोकली नेतृत्वको एक समूह पनि टिकटक खरिदका लागि प्रतिस्पर्धामा सामेल भएको छ। अमेरिकी अधिकारीहरूले टिकटकको चीनसँगको सम्बन्धबारे सुरक्षा चिन्ता व्यक्त गरेका छन्, जुन टिकटक र यसको मालिक बाइटडान्सले अस्वीकार गर्दै आएका छन्।
अमेरिकी राष्ट्पति ट्रम्पले गत महिना आफ्नो प्रशासन टिकटकको बिक्रीबारे चार फरक समूहहरूसँग सम्पर्कमा रहेको बताएका थिए, तर ती समूहहरूको पहिचान खुलाएका थिएनन्।
यो सम्झौताका वार्ताहरूमा ह्वाइट हाउस असाधारण रूपमा संलग्न रहेको छ, जसले प्रभावकारी रूपमा लगानी बैंकको भूमिका निर्वाह गरिरहेको छ।
ट्रम्पले यसअघि नै चीनले बाइटडान्सको स्वामित्वमा रहेको टिकटक बिक्री गर्न स्वीकृति दिएमा अमेरिकाले चिनियाँ आयातमा गरिएका ट्यारिफहरूमा केही राहत दिने प्रस्तावबारे सोच्न सक्ने संकेत गरिसकेका छन्।
प्राइभेट इक्विटी कम्पनी ब्ल्याकस्टोनले सुस्केहाना इन्टरनेशनल ग्रुप र जेनेरल एटलान्टिकले नेतृत्व गरिरहेका बाइटडान्सका गैर-चिनियाँ शेयरधनीहरूसँग मिलेर टिकटकको अमेरिकी कारोबार खरिद गर्न नयाँ लगानी गर्ने सम्भावनाबारे छलफल गरिरहेको रोयटर्सले रिपोर्ट गरेको छ।
टिकटकको भविष्य अनिश्चित अवस्थामा रहेको छ। २०२४ मा पारित भएको एक नयाँ कानुनले बाइटडान्स लाई जनवरी १९ भित्र टिकटक बिक्री गर्न बाध्य पार्ने प्रावधान राखेको थियो। सो समयसीमाअघि केही समयका लागि एप बन्द भएको थियो।
ट्रम्पले जनवरी २० मा दोस्रो कार्यकाल सम्हालेपछि ७५ दिनका लागि उक्त कानुनको कार्यान्वयन स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए, जसले टिकटक लाई अस्थायी रूपमा अमेरिकामा सञ्चालन गर्न अनुमति दिएको छ।
प्रकाशित: २२ चैत्र २०८१, शुक्रबार