Technology Khabar १७ चैत्र २०८१, आईतवार
काठमाडौं ।
ताइवानका अधिकारीहरूले चीनको सबैभन्दा ठूलो चिप निर्माता एसएमआईसी (सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्पोरेशन) ले ताइवानमा शेल कम्पनीको आडमा अवैध रूपमा प्राविधिक कामदारहरू भर्ती गरेको छ कि छैन भन्ने अनुसन्धान गरिरहेको बताएका छन्।
चीनले आफ्नै भूभागको रूपमा दावी गर्दै आएङ्को ताइवान प्रविधि चोरी रोक्न र स्थानीय दक्ष इन्जिनियरहरूलाई आकर्षित गर्ने अवैध गतिविधिहरू नियन्त्रण गर्न प्रयास गरिरहेको छ। टेकक्रञ्चका अनुसार ताइवानले उन्नत सेमिकण्डक्टर उत्पादनमा आफ्नो प्रभुत्व भएको कारण चिनियाँ कम्पनीहरूले नक्कली कम्पनीहरूको प्रयोग गरेर ताइवानका प्राविधिक विशेषज्ञहरूलाई आकर्षित गर्ने गरेको बताइएको छ।
ताइवानको न्याय मन्त्रालयअन्तर्गतको अनुसन्धान विभागका अनुसार एसएमआईसीले ताइवानमा सामोआ देशको नाममा दर्ता गरिएको नक्कली कम्पनी स्थापना गरी इन्जिनियरहरू भर्ना गर्ने प्रयास गरेको थियो।
कम्पनीले ताइवानको मुख्य अर्धचालक हब Hsinchu सहर नजिकै Hsinchu काउन्टीमा आफ्नो गतिविधि सञ्चालन गरेको बताइएको छ। तर, अनुसन्धान निकायले विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।
एसएमआईसीले अमेरिकी निर्यात प्रतिबन्धहरूका बीच चीनको स्वदेशी अर्धचालक उत्पादन क्षमतालाई बलियो बनाउन लगानी बढाइरहेको छ। तर, यस मुद्दामा एसएमआईसीले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
अनुसन्धान विभागले यस महिनाको सुरुमा ११ कम्पनीहरूमा छापा मारी ३४ स्थानको खोजी गरेको र एसएमआईसीसमेत संलग्न भएका सम्भावित अवैध भर्ती गतिविधिहरूमा ९० जनासँग सोधपुछ गरेको जनाएको छ।
२०२० मा यस विषयमा विशेष कार्यबल गठन गरेपछि विभागले १०० भन्दा बढी घटनाको अनुसन्धान गरिसकेको बताइएको छ।
“उच्च प्रविधि उद्योग हाम्रो राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड हो। अर्धचालक प्रविधि र सम्बन्धित औद्योगिक शृङ्खलासँग सम्बन्धित कम्पनीहरू हाम्रो आर्थिक शक्ति कायम राख्नका लागि ‘राष्ट्रका सुरक्षा पर्वत’ हुन्,” अनुसन्धान निकायले भनेको छ।
चिनियाँ कम्पनीहरूले ताइवानका दक्ष इन्जिनियरहरूलाई आकर्षित गर्न नक्कली ताइवान वा विदेशी कम्पनीहरू स्थापना गर्ने, म्यानपावर फर्महरूसँग अवैध रूपमा काम गर्ने वा भित्रभित्रै कार्यालयहरू सञ्चालन गर्ने गरेको टेकक्रञ्चले उल्लेख गरेको छ।
प्रकाशित: १७ चैत्र २०८१, आईतवार