प्रविधिमैत्री अनुगमनमा जोड दिनुपर्ने सरोकारवालाहरुको भनाई

Technology Khabar ३ चैत्र २०८१, आईतवार

काठमाडौं ।

उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न प्रविधिमैत्री अनुगमनमा जोड दिनुपर्ने सरोकारवाला निकायले बताएका छन्। विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रविधिमैत्री अनुगमन गर्न आवश्यक रहेको बताइएको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका सम्झौता, बनेका नीति नियम बने पनि त्यसको कार्यान्वयन गर्न कठिनाइ भएको बताए।

उनले उपभोक्ताको अधिकारलाई ध्यानमा राखो जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बजार अनुगमन गर्ने गरिएको तर बजार अनुगमन गर्ने प्रविधि नभएका कारण अनुगमन प्रभावकारी हुन नसकेको उल्लेख गरे। उनले बजार अनुगमन गर्न जाँदा आवश्यक उपकरण नहुँदा उपभाक्ताको अधिकार उल्लङ्घन गर्नेलाई कारबाही गर्न नसकिएको बताए।

उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले सयमा आबद्ध भएका व्यवसायीलाई उपभोक्ताको अधिकारको ख्याल गरी व्यापार व्यवसाय गर्न व्यवसायीलाई आग्रह गरिएको बताए। उनले उद्योगी व्यवसायीलाई पटक पटक सचेतना गराइएको भन्दै बेला बेलामा अनुगमन गर्ने काम पनि गरेको जानकारी दिए।

गैरसरकारी संस्था महासङ्घ दैलेखका डिलकुमारी चन्दले उपभोक्ताको अधिकारका लागि उपभोक्ता नै जाग्नुपर्ने बताइन्। उनले उपभोक्ताले आफूले उपयोग गर्ने सामग्री गुणस्तर भए नभएको वा ठगी भएको विषयमा सम्बन्धित निकायमा उजुरो गर्ने गरेको खण्डमा उपभोक्ता अधिकार सुनिश्चित हुने जिकिर गरिन्।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष अम्मर सुनारले उपभोक्ता आफैँ जागरुक नभएसम्म अधिकार स्थापित हुन नसक्ने बताए। उनले अधिकारका लागि उपभोक्ता जागरुक हुने र बदमासी भएकालाई कानुनी कठघरामा उभ्याइएको अबस्थामा मात्र त्यसले सार्थकता पाउने उल्लेख गरे।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यक्रम अधिकृत पर्शुराम आचार्यले बजार अनुगमन गर्ने गरिएको भए पनि आफूहरूसँग गुणस्तर परीक्षण प्रविधि नहुँदा अनुगमन प्रभावकारी हुन नसकेको बताए। उनले उपभोक्ता संरक्षण ऐन, २०७४ ले वस्तु वा सेवाको सहज पहुँच, स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तुको बिक्री गर्नुपर्ने प्रावधान भए पनि त्यसको कार्यान्वयनमा समस्या भएको जानकारी दिए।

आजको गोरखापत्रबाट

प्रकाशित: ३ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया