काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, दशओटा कालोसूचीमा र तीनओटा सूचीकरणबाट हटाईए

  • Technology Khabar | २० माघ २०८१, आईतवार
काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, दशओटा कालोसूचीमा र तीनओटा सूचीकरणबाट हटाईए

काठमाडौं ।

प्रेस काउन्सिल नेपालले आचारसंहिता पालनाका लागि दिइएको निर्देशन अवज्ञा गर्ने विभिन्न सञ्चारमाध्यमलाई कारबाही गरेको छ।

काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै निर्देशन अवज्ञा गर्ने १० ओटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखी कारबाही अगाडि बढाइएको र तीन ओटालाई सूचीकरणबाट हटाएको जनाएको छ। यस्तै छओटा सञ्चारमाध्यमलाई अवज्ञाकारी कालोसूचीमा राखी थप कारबाही अगाडि बढाइएको र तीमध्ये तीन ओटालाई सूचीकरणबाट हटाइएको छ।

साथै चारओटा सञ्चारमाध्यमलाई भने क्षमायाचना र आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएपछि कारबाही फुकुवा गरी कालोसूचीबाट हटाइएको छ। आचारहिताबमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने १० ओटा ‘अनलाइन’ सञ्चारमाध्यमलाई कालोसूची/अवज्ञाकारीको सूचीमा राखी कारबाही अगाडि बढाइएको छभने तीनओटालाई सूचीकरणबाट समेत हटाई थप कारबाही गरिएको छ।

“अवज्ञाकारी कालोसूचीमा राखी कारबाही गरिएकामध्ये क्षमायाचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरी निवेदन दिने चारओटा सञ्चारमाध्यमहरू टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलासअनलाइन डटकमको अवज्ञाकारी/कालोसूचीको कारबाही फुकुवा गरिएको छ”, काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “छओटा सञ्चारमाध्यम एबिपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशीपोष्ट डटकम, हेर्दाहेदै डटकम, दियोपोष्ट डटकम र नेपालकथा डटकमलाई अवज्ञाकारी कालोसूचीमा राखी थप कारबाही अगाडि बढाइएको छ। यीमध्ये एबिपीक्राइमन्यूज डटकम, दियोपोष्ट डटकम र हेर्दाहेर्दै डटकमलाई भने सूचीकरणबाट समेत हटाइएको छ।”

यसैगरी, काउन्सिलले चालु आर्थिक वर्षको साउनदेखि यही माघ १५ गतेसम्म हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, द्वेष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल) चार, फेसबुक पेज एक तथा अनलाइन पाँचवटालाई निर्देशन र चारओटालाई सचेत गराइएको छ।

यस्तै, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने मिडियाका रूपमा दर्ता सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र पाँच फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको पनि काउन्सिलले जनाएको छ।

पत्रकार आचारसंहिताको पटक पटक र शृङ्खलाबद्ध उल्लङ्घन गरेका सञ्चारमाध्यमलाई काउन्सिलले कारबाहीस्वरुप कालोसूचीमा राख्ने, सूचीकरणबाट हटाई विज्ञापन र अन्य सुविधा रोक्न सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने व्यवस्था छ। काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले गल्ती गर्नेलाई कारबाही र सच्याउने तत्परता देखाउनेलाई कारबाही फुकाउने काम सँगसँगै अगाडि बढेको बताए। “काउन्सिलले कारबाही मात्र गर्ने होइन, गल्ती महसुस गर्दै सही र तथ्यपूर्ण समाचार सामाग्री दिने प्रतिबद्धता जनाउने सञ्चार माध्यमलाई कारबाही फुकुवासमेत गर्छ, गर्दै आएको छ”, उनले भने।

काउन्सिलले पछिल्लो समय उजुरी दर्ता हुने क्रम बढेको जनाएको छ। विज्ञप्तिअनुसार चालु आवको माघ १५ गतेसम्म २४७ मिडियाविरुद्ध १५६ ओटा उजुरी र एउटा जनगुनासो दर्ता भएका छन्। तीमध्ये ५६ गालीबेइज्जती/चरित्रहत्या/मानहानि, ८७ गलत/भ्रामक/असन्तुलित/दुष्प्रचार, चारओटा बार्गेनिङ र नौओटा हुबहु रहेका छन्। रासस

प्रकाशित: २० माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...