
काठमाडौं ।
यहि माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ तयारी अन्तिम चरणमा पुगेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले यसबारे जानकारी दिएको हो।
३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ।
नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताउँदै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने बताईन। ‘प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएका छौं,’ अध्यक्ष पाण्डेले भनिन।
नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग नीतिगत पक्षमा नजिकबाट सहकार्य गरिरहेको बताउँदै उनले सामूहिक प्रयत्नबाटै डिजिटल नेपालको सपना पूरा हुने धारणा राखिन्।
यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर टिकट सञ्जाल मार्फत क्यान इन्फोटेकको टिकेट अनलाइनबाट खरिद गर्न सकिने छ। यस अन्तर्गत सर्वसाधारणका लागि रू.१०० र विद्यार्थीका लागि रू.५० शुल्क तोकिएको छ। जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शुल्क प्रवेश व्यवस्था छ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले जानकारी दिए।
यसपटक क्यान इन्फोटेकमा राष्ट्रिय परिचय पत्रको इनरोलमेन्टसमेत भृकुटीमण्डपमै रहने जानकारी दिईयो। साथै, इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले साइबर सुरक्षा सहायता डेस्क सञ्चालन गर्दैछ, जसले साइबर सुरक्षा समस्यामा सहजीकरण गर्नेछ।
आयोजककाअनुसार, क्यान इन्फोटेक २०२५ का मा करिब १५० स्टल रहनेछन्। यसमध्ये ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको छ। यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ।
प्रकाशित: २० माघ २०८१, आईतवार