Technology Khabar १६ माघ २०८१, बुधबार
काठमाडौं ।
डीपसिकको एन्ड्रोइड एपले अमेरिकामा गुगल प्ले स्टोरको चार्टमा पहिलो स्थान हासिल गरेको छ। यो सफलता कम्पनीको च्याटबट एपले एप्पल एप स्टोरमा शीर्ष स्थान कब्जा गरेकै केही दिनपछि आएको हो।
एप विश्लेषण गर्ने कम्पनी एपफिगर्सका अनुसार, जनवरीको मध्यमा सुरूवात भएपछि डीपसिक एप गुगल प्ले स्टोरमा १२ लाखभन्दा बढी पटक र एप्पल एप स्टोरमा १९ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ।
साथै, गुगल प्ले स्टोरमा देखिएको ५० लाखभन्दा बढी डाउनलोडको ट्यागले यसको वास्तविक संख्या अझ बढी हुन सक्ने संकेत गर्ने टेकक्रञ्चले उल्लेख गरेको छ।
डीपसिकको तीव्र लोकप्रियताको मुखुय कारण यसले हालै सार्वजनिक गरेका ओपन-सोर्स एआई मोडलहरू हुन्, जसले ओपनएआई, एन्थ्रोपिक, मेटा र गुगलजस्ता पश्चिमा कम्पनीका मोडलहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता देखाएका छन्।
तर चिनियाँ कम्पनीको दावी अनुसार यसको एआई मोडलहरूलाई ओपनएआई र मेटाजस्ता कम्पनीहरूले खर्च गरेको बजेटको सानो अंशमा मात्र प्रशिक्षण गरिएको हो, र कमजोर एआई चिपहरूको प्रयोग गरेर तयार पारिएको हो।
डीपसिकको एपलाई च्याटजीपीटीको विकल्पका रूपमा प्रस्तुत गरिएको छ, जसलाई चिनियाँ ल्याबको भी३ मोडलद्वारा सञ्चालित गरिएको छ।
यस एपमार्फत प्रयोगकर्ताहरूले फाइल विश्लेषण गर्न, प्रश्नहरूको उत्तर पाउन, र इन्टरनेटबाट जानकारी प्राप्त गर्न सक्छन्। एप निःशुल्क छ र यसमार्फत् फाइल अपलोड गर्न तथा च्याट इतिहास विभिन्न डिभाइसहरूमा सिंक्रोनाइज गर्न सकिन्छ।
डीपसिक अहिले चार्टमा अग्रस्थानमा भए पनि यसले ओपनएआईको च्याटजीपीटीलाई दीर्घकालीन रूपमा उछिन्नका लागि ३० करोड साप्ताहिक प्रयोगकर्ताहरू पुर्याउनुपर्नेछ।
डीपसिक र यसका मोडलहरूको उद्योगबाट पछिल्ला केही दिनमा ठूलो ध्यान आकर्षण भएको छ। पर्प्लेक्सिटी र पूर्व इन्टेल सीईओ प्याट गेल्सिङ्गरको नयाँ स्टार्टअप ग्लू जस्ता कम्पनीहरूले पहिले नै डीपसिकलाई आफ्ना उत्पादनहरूमा एकीकृत गर्न थालेका टेकक्रञ्चले उल्लेख गरेको छ।
प्रकाशित: १६ माघ २०८१, बुधबार