मेटाले बोर्डमा भित्र्यायो दाना व्हाइट लगायत ३ नयाँ निर्देशक

Technology Khabar २४ पुष २०८१, बुधबार

काठमाडौं ।

मेटा प्लेटफर्मले सोमबार आफ्नो बोर्डका लागि तीन नयाँ निर्देशकहरू चयन गरेको छ। तीमध्ये अल्टिमेट फाइटिङ च्याम्पियनशिप (यूएफसी) का सीईओ दाना व्हाइट र राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पका निकट मित्र हुन्।

फेसबुकको अभिभावक कम्पनीले लगानीकर्ता र माइक्रोसफ्टका पूर्व कार्यकारी चार्ली सङहर्स्ट साथै एक्जोरका सीईओ जोन एल्कनलाई पनि चयन गरेको छ। एक्जोर इटालीको एग्नेली परिवारद्वारा नियन्त्रित होल्डिङ कम्पनी हो जसको फरारी र क्रिश्चियन लोबुटिनजस्ता युरोपेली व्यवसायहरूमा लगानी छ।

“दाना, जोन र चार्लीले हामीलाई एआई, वेयरेबल्स र मानव सम्बन्धको भविष्यजस्ता विशाल अवसरहरू सामना गर्नका लागि गहन विशेषज्ञता र दृष्टिकोण प्रदान गर्नेछन्”, मेटाका सीईओ मार्क जुकरबर्गले बताएका छन्।

ट्रम्पको व्हाइटसँग लामो सम्बन्ध रहेको छ। उनले जुलाईमा रिपब्लिकन नेशनल कन्भेन्सनमा ट्रम्पको उम्मेदवारीलाई समर्थन गरेका थिए र यसअघि २०१६ र २०२० का सम्मेलनहरूमा पनि समर्थन जनाएका थिए।

यस्तै जुकरबर्गले पनि हालका वर्षहरूमा व्हाइटसँग सम्बन्ध विकास गरेका छन्। जुकरबर्ग एक मिश्रित मार्शल आर्ट्सप्रेमी र मनोरञ्जनात्मक लडाकु हुन्। २०२२ मा इन्स्टाग्राममा जुकरबर्गले यूएफसीको एउटा लडाईँ हेर्न आमन्त्रण गरेकोमा व्हाइटलाई धन्यवाद दिएका थिए। यूएफसीले पनि अक्टागन पिंजडामा दुवैको तस्बिर साझा गरेको थियो।

एल्कन स्टेलान्टिस एनभी र फरारीका कार्यकारी अध्यक्ष हुन्, साथै एग्नेली फाउण्डेशनका अध्यक्ष पनि हुन् जसले शिक्षामा केन्द्रित गरी काम गर्दछ।

रोयटर्सका अनुसार ङहर्स्ट मेटाले गत मे महिनामा गठन गरेको चार सदस्यीय एआई सल्लाहकार समूहमा सक्रिय छन्। यो समूहले कम्पनीको रणनीतिक अवसरहरूबारे मार्गनिर्देशन दिन्छ।

जुकरबर्गले मेटालाई ट्रम्पको सम्भावित दोस्रो कार्यकालका लागि तयार पारिरहेका छन्। उनले अघिल्ला सामग्रीसम्बन्धी निर्णयहरूका लागि पश्चाताप गरेका छन्, जसले कन्जरभेटिभहरूलाई असन्तुष्ट बनाएको थियो। साथै उनले ट्रम्पको हत्या प्रयासमा उनको प्रतिक्रियाको प्रशंसा गरेका छन्।

गत हप्ता कम्पनीले रिपब्लिकन नीति कार्यकारी नोयल काप्लानलाई ग्लोबल अफेयर्स प्रमुखको पदमा बढुवा गरेको थियो। मेटाले ट्रम्पको उद्घाटन कोषमा १ मिलियन डलर दान दिएको थियो जुन यसको अघिल्लो अभ्यासभन्दा भिन्न रहेको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २४ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया