पछिल्लो तीन महिनामा इन्टरनेट बैंकिङमार्फत हुने कारोबार र रकम क्रमश: घट्दो

Technology Khabar ३ पुष २०८१, बुधबार

काठमाडौं ।

नेपालमा पछिल्लो तीन महिनामा लगातार इन्टरनेट बैंकिङ कारोबार गर्ने प्रवृत्ति र रकम घट्दो क्रममा गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ कार्तिक महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार र रकम दुवैमा क्रमश: घट्दै गएको प्रवृत्ति देखिएको हो।

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउन मसान्तमा इन्टरनेट बैंकिङमार्फत् ४ लाख ९ हजार ६५ कारोबार भएको थियो। साउनबाट भदौमा आउँदा भने कारोबार सङ्ख्यामा ३६ हजार १४ ले कमी आएको थियो।

यसैगरी भदौबाट असोजसम्म आउँदा १७ हजार ११२ घटेर ३ लाख ५५ हजार ९३९ मा र असोजबाट कार्तिक मसान्तसम्म आइपुग्दा १२ हजार ८९९ घटेर ३ लाख ४३ हजार ४० मा आइपुगेको विवरणमा उल्लेख छ।

कारोबार रकमका हिसाबले हेर्दा साउन महिनामा इन्टरनेट बैंकिङमार्फत् २२ अर्ब ४९ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा भदौ मसान्तसम्म आइपुग्दा २ अर्ब ५४ करोड २० लाख घटेर १९ अर्ब ४९ करो८ ९० लाखमा आइपुगेको थियो।

यसैगरी भदौदेखि असोज मसान्तसम्म २ अर्ब ६८ करोड ३० लाख घटेर १७ अर्ब २६ करोड ७० लाख र असोज मसान्तदेखि कार्तिक मसान्तसम्म आइपुग्दा यो रकममा ८९ करोड १० लाख घटेर १६ अर्ब ३७ करोड ६० लाख रुपैयाँमा आइपुगेको छ।

प्रकाशित: ३ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया