Technology Khabar ३ पुष २०८१, बुधबार
काठमाडौं ।
अमेरिकाको डेलावेयरस्थित संघीय अदालतमा यस हप्ता भइरहेको मुद्दामा चिप उद्योगको भविष्यसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्न उठाइएको छ: आर्मको कम्प्युटिङ आर्किटेक्चरको आधारमा निर्माण गरिएको बौद्धिक सम्पत्तिको स्वामित्व कसको हो?
मुद्दामा क्वालकमको ल्यापटप व्यवसायमा विस्तारको भाग्य दाउमा रहेको छ। क्वालकमले माइक्रोसफ्टजस्ता साझेदारहरूलाई एप्पलका आफ्नै कस्टम चिप्सले ल्याएको प्रतिस्पर्धालाई चुनौती दिन मद्दत गरिरहेको छ।
रोयटर्सका अनुसार आर्मको मुख्य उत्पादन कम्प्युटिङ आर्किटेक्चर हो, जसले इन्टेलको आर्किटेक्चरलाई प्रतिस्पर्धा गर्छ। यो स्मार्टफोनमा व्यापक रूपमा प्रयोग हुने र बिस्तारै ल्यापटप तथा डेटा सेन्टरहरूमा पनि बढ्दो रूपमा अपनाइँदै आएको छ। भिन्न कम्प्युटिङ आर्किटेक्चरहरूकै कारण धेरैजसो स्मार्टफोन एप्स पहिले ल्यापटपमा काम गर्दैनथे।
एप्पलजस्ता ठूला कम्पनीहरूले आर्मको आर्किटेक्चरमा आधारित आफ्नै कम्प्युटिङ कोरहरू डिजाइन गर्छन्। तर, आर्मले मीडियाटेकजस्ता साना कम्पनीहरूले प्रयोग गर्न तयार कोर डिजाइनहरू पनि उपलब्ध गराउँछ। आर्मको आर्किटेक्चरमा आधारित कोर डिजाइनहरूको स्वामित्व कहाँ सुरु हुन्छ र कहाँ अन्त्य हुन्छ भन्ने विषय आर्म र क्वालकमबीचको विवादको केन्द्रमा छ।
दुवै पक्षबीच मतभेद २०२१ मा १.४ अर्ब डलरमा क्वालकमले किनेको नुभियाले आफ्ना कम्प्युटिङ कोर डिजाइनहरू क्वालकमलाई स्थानान्तरण गर्न पाउने अधिकार थियो वा थिएन भन्ने हो।
मंगलबार डेलावेयर अदालतमा आर्म र क्वालकमका वकिलहरूले एप्पलका पूर्व इन्जिनियर जेरार्ड विलियम्सलाई सोधपुछ गरे। उनले २०१९ मा नुभियाको स्थापना गरेका थिए। वकिलहरूले नुभियाका कोरहरू आर्मको प्रविधिको व्युत्पन्न (डेरिभेटिभ) हुन् कि आर्मको प्रविधिले नुभियाको काममा केवल सानो भूमिका खेलेको हो भन्नेबारे विवाद उठाए।
आर्मका वकिलले विलियम्सलाई उक्त विवादको केन्द्रमा रहेको लाइसेन्सिङ सम्झौतामा आर्मको प्रविधि र त्यसका “डेरिभेटिभ” तथा “मोडिफिकेसन” कभर हुने कुरा उल्लेख भएको स्वीकार गर्न दबाब दिए।
विलियम्सले बारम्बार भने, उनले सम्झौताको मतलब नुभियाको सबै काम आर्मको प्रविधिको डेरिभेटिभ वा मोडिफिकेसन हो भन्ने विश्वास गर्दैनन्। तर उनले उक्त शब्दहरूले भने त्यस्तै देखाउँछ भन्ने स्वीकार गरे। आर्मकी वकिल डारालिन दुरीले सोधिन्, “शायद तपाईंले त्यसो भन्नुहुन्न होला, तर यो सम्झौताले त्यस्तै भन्छ।” “म त्यसो भन्दिनँ,” विलियम्सले जवाफ दिए, “तर म कानूनी विशेषज्ञ होइन।” दुरीले तुरुन्तै आफ्नो प्रश्न सकिएको बताइन्।
दुरीसँगको संवादपछि क्वालकमका वकिलले विलियम्सलाई क्वालकमका फोन, ल्यापटप र गाडीका चिप्समा कति थोरै आर्म प्रविधि प्रयोग भएको छ भनेर वर्णन गर्न निर्देशन दिएका थिए।
विलियम्सले भने, उनका विकासकर्ताहरूले आर्म आर्किटेक्चरबाट सुरु गरेका थिए र उनलाई नुभियाको अन्तिम डिजाइनमा आर्म प्रविधिको मात्रा अनुमान गर्न भनिएको थियो। “एक प्रतिशत वा त्यसभन्दा कम,” उनले जवाफ दिए।
विश्लेषकहरूले रोयटर्सलाई भने अनुसार क्वालकमले आर्मलाई वार्षिक ३० करोड डलर तिर्छ। सोमबार पेश गरिएको प्रमाणले देखाएको छ कि क्वालकमले नुभिया किनेपछि आर्मका कार्यकारीहरूले वार्षिक ५ करोड डलरको थप आम्दानी गुमाएको ठानेका थिए।
मुद्दाको निर्णय यसै हप्ता आउन सक्ने अनुमान गरिएको छ। क्वालकमका सीईओ क्रिस्टियानो आमोनले पनि साक्षी बस्न सक्ने रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: ३ पुष २०८१, बुधबार