फाल्कन ९ रकेटले अपराह्न ३:५८ मा स्टारलिंकका स्याटेलाइट लिएर आफ्नो कीर्तिमानी २४औं उडान गर्ने

Technology Khabar १९ मंसिर २०८१, बुधबार

काठमाडौं ।

स्पेसएक्सले एउटा नयाँ रकेट पुन:प्रयोगको कीर्तिमान बनाउने भएको छ। यस पटक फाल्कन ९ रकेटले स्टारलिंक स्याटलाइटहरुलाई पृथ्वीको तल्लो कक्ष अर्थात् लो अर्थ अर्बिटमा पुर्‍याउन फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट बुधबार, डिसेम्बर ४ मा प्रक्षेपण गर्ने तालिका छ। प्रक्षेपणको लागि झन्डै दुई घण्टाको टाइम विण्डो बिहान ५:१३ बजे (ईएसटी) खोलिनेछ।

ईएसटी र जीएमटीबीच ५ घण्टाको फरक हुन्छ। यसरी ५:१३ ईएसटी भन्नाले १०:१३ हुन आउँछ जसलाई नेपाली समयमा रुपान्तर गर्दा त्यसमा ५:४५ जोड्नुपर्छ। यसरी हेर्दा फाल्कन ९ ले स्टारलिंकका स्याटलाइटहरुलाई नेपाली समय अनुसार आज अपराह्न ३ बजेर ५८ मिनेटमा लो अर्थ अर्बिटमा लैजाने स्पेस डटकमले उल्लेख गरेको छ।

यो फाल्कन ९ रकेटको पहिलो चरणको २४औँ उडान हुनेछ, जसले २३ पटकको अघिल्लो कीर्तिमान तोड्नेछ। उडानपश्चात् यो पहिलो चरणलाई अटलान्टिक महासागरमा रहेको ड्रोन जहाज अ शर्टफल अफ ग्राभिटास मा सुरक्षित अवतरण गरिनेछ। अवतरण प्रक्षेपणको करिब आठ मिनेटपछि हुनेछ।

त्यसैगरी रकेटको माथिल्लो भागले उडानको ६५ मिनेटपछि स्टारलिंक स्याटेलाइटहरूलाई कक्षमा छोड्ने योजना छ। स्पेसएक्सले यो प्रक्षेपणको प्रत्यक्ष प्रसारण एक्स (पहिले ट्विटर) मा प्रक्षेपणको पाँच मिनेटअघि सुरु गर्नेछ।

फाल्कन रकेट परिवारको यो उपलब्धिले स्पेसएक्सको सफलता थप बलियो बनाएको छ। हालसम्म स्पेसएक्स ले ४०० भन्दा बढी सफल फाल्कन ९ प्रक्षेपण गरिसकेको छ र ३७७ पटक पहिलो चरणको सुरक्षित अवतरण गरिसकेको छ।

इतिहासकै सबैभन्दा ठूलो स्याटेलाइट नेटवर्कका रुपमा रहेको स्टारलिंक निरन्तर विस्तार हुँदैछ। अहिले ६,७५० भन्दा बढी सक्रिय स्याटेलाइटहरूले काम गरिरहेका र यसले विश्वव्यापी इन्टरनेट सेवामा महत्वपूर्ण भूमिका खेलिरहेका स्पेस डटकमले उल्लेख गरेको छ।

प्रकाशित: १९ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया