
काठमाडौं ।
नासाका अन्तरिक्षयात्री म्याथ्यू डोमिनिकले हरिकेन मिल्टनको शक्तिशाली फोटोहरू खिचेर प्रस्तुत गरेका छन् जसमा हरिकेन मिल्टन समुद्रबाट भड्किएर जमिनतर्फ बितण्डा मच्चाउन आफ्नो बाटो तय गरिरहेको देखिएको छ।
डोमिनिकले एक्स (पूर्वमा ट्विटर) मा एक टाइमल्याप्स भिडियो पोस्ट गरेका छन्, जसमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा डक भएको स्पेसएक्स क्रू ड्रागन क्याप्सुल एन्डेभर को झ्यालबाट हरिकन मिल्टनको बितण्डालाई देख्न सकिन्छ।
एन्डेभर अहिले नासाको क्रू-८ मिशनको रूपमा उडिरहेको छ। यो क्याप्सुलले मार्चको सुरुमा डोमिनिकलाई अन्य नासाका अन्तरिक्षयात्रीहरू माइकल ब्यारेट र जीनिट एप्स तथा रूसको रोस्कस्मसका अन्तरिक्षयात्री अलेक्जान्डर ग्रेबेनकिनसँगै आईएसएसमा पुर्याएको थियो।

स्पेस डटकमका अनुसार क्रू-८ मिशन अब अन्तिम चरणमा पुगेको छ। यो टोली अक्टोबर ७ मा सोमबारमा पृथ्वीमा फर्कनु पर्ने थियो तर हरिकेन मिल्टनले यसलाई ढिला गराएको छ। उक्त आँधी हाल खाडी क्षेत्रबाट फ्लोरिडातर्फ अघि बढिरहेको छ, र यसले एन्डेभरको योजना गरिएको अवतरण स्थानलाई प्रभावित गर्दैछ।
हरिकेन मिल्टन अहिले श्रेणी ४ को शक्तिशाली आँधी हो, जुन दोस्रो सबैभन्दा शक्तिशाली प्रकारमा पर्छ। यसले बुधबार (अक्टोबर ९) फ्लोरिडाको खाडी तटमा, विशेष गरी टाम्पा र सेन्ट पीटर्सबर्ग नजिक, श्रेणी ३ को रूपमा जमिनमा ठोक्किने अपेक्षा गरिएको छ। आँधी फ्लोरिडाको पूर्वी तटसम्म पुगेर त्यहाँ पनि असर पार्न सक्ने सम्भावना छ।
यो आँधीले नासालाई फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट ५ अर्ब डलरको युरोपा क्लिपर मिशनको निर्धारित प्रक्षेपण (अक्टोबर १०) पनि स्थगित गर्न बाध्य बनाएको छ। नयाँ प्रक्षेपण मिति आँधीले पार गरेपछि घोषणा गरिनेछ।
एन्डेभर आइएसएसमा डक भएको एकमात्र स्पेसएक्स क्याप्सुल होइन। क्रू ड्रागन फ्रीडम सेप्टेम्बर २९ मा नासाको क्रू-९ मिशनका रूपमा आइपुगेको थियो। डोमिनिकको भिडियोमा फ्रीडम आंशिक रूपमा पृथ्वीको अद्भुत दृश्यलाई ढाकेको अवस्थामा देख्न सकिने स्पेस डटकमले उल्लेख गरेको छ।
प्रकाशित: २४ आश्विन २०८१, बिहीबार