नवप्रवर्तन तथा प्रविधि र विकासबारे अनुसन्धान गर्न नास्टले १० लाखसम्म प्रदान गर्ने

  • Technology Khabar | १६ आश्विन २०८१, बुधबार
नवप्रवर्तन तथा प्रविधि र विकासबारे अनुसन्धान गर्न नास्टले १० लाखसम्म प्रदान गर्ने

काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रविधि सङ्कायले नेपाल समृद्धिका लागि नवप्रवर्तन कार्यक्रम अन्तर्गत नवप्रवर्तन तथा प्रविधि अनुसन्धान र विकासको प्रस्ताव आह्वान गरेको छ।

प्रतिष्ठानले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०८१/८२ का लागि नेपाललाई आवश्यक पर्ने नवीनतम् प्रविधि विकास गर्न वा प्रविधिहरूलाई सुधार गर्नका लागि प्रतिभाशाली नेपाली नागरिकहरूको पहिचान गरी उनीहरूका नवीनता सहितको प्रविधि विकास गर्न सहकार्य गर्ने कार्यक्रम रहेकोले यस प्रकारको आह्वान गरिएको जनाएको छ।

यसै उद्देश्यका लागि उत्साही नेपाली नागरिकहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिन (कार्यालय समय) भित्र आफूले गर्न चाहेको परियोजनाको प्रस्ताव सहितको निवेदन प्रतिष्ठानको खुमलटार, ललितपुरस्थित केन्द्रीय कार्यालयमा वा [email protected] ना कार्यालय समयभित्र दर्ता गराउन आह्वान गरेको छ।

प्रतिष्ठानका अनुसार हस्तलिखित प्रस्तावहरूलाई मान्यता दिइने छैन भने उक्त प्रस्ताव बढीमा १५ पृष्ठ सम्मको हुनुपर्नेछ र उक्त प्रस्ताव नास्टको डोम पेजमा दिइएको कार्यविधिमा उल्लिखित ढाँचा अनुसार नेपालीहरूको समस्याहरूलाई सम्बोधन गरी समाधान दिने खालको हुनुपर्नेछ।

‘समस्या अध्ययन गरी प्रतिवेदन मात्र पेश गर्ने अनुसन्धानलाई यस कार्यक्रममा समावेश गरिने जनाइएको छ। साथै प्रस्तावमा उल्लिखित बजेट बढीमा रु. १० दश लाखले नबढाई गरिएको हुनुपर्नेछ। छनोट भएका प्रस्तावकहरूलाई १ वर्षको कार्य अवधि दिइनेछ’, सूचनामा उल्लेख छ।

प्रस्तावकहरूले प्रस्तावको साथमा एक प्रति नागरिकताको प्रतिलिपि र बढीमा २ पृष्ठको व्यक्तिगत विवरण (बायोडाटा) पनि संलग्न गर्नुपर्नेछ।

प्रस्तावका लागि अनुसन्धानका प्राथमिक क्षेत्रहरू कृषि तथा खाद्य प्रविधि ऊर्जा तथा यातायात प्राकृतिक स्रोत साधनको उपयोग, विपद् जोखिम न्यूनीकरणको क्षेत्रसँग सम्बन्धित समस्याहरूको समाधानका लागि आवश्यक पर्ने प्रविधिहरूको विकास गर्नु रहेकाले अनुसन्धानको उद्देश्य माथि उल्लिखित क्षेत्रहरूमा नयाँ प्रविधि विकास गर्ने वा विद्यमान प्रविधिहरूको सुधार गर्ने हुनुपर्नेछ।

साथै यो प्रविधिहरू नेपालका विभिन्न ठाउँका जनतासमक्ष बढीभन्दा बढी उपयोगमा आउनुपर्ने र रोजगारी सिर्जना गर्ने खालका हुनुपर्ने प्रावधान राखिएको छ।

प्रज्ञा प्रतिष्ठानको तत्सम्बन्धी निर्देशिका अनुसार लघु सूचीमा समाविष्ट निवेदकहरूलाई मात्र सम्पर्क गरिने सूचनामा उल्लेख छ। आवेदन फाराम र प्रस्ताव सम्बन्धी विस्तृत जानकारीका लागि यस प्रतिष्ठानको वेबसाइट https://nast.gov.np हेर्न पनि प्रतिष्ठानले अनुरोध गरेको छ।

प्रकाशित: १६ आश्विन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...