Apple

एप्पलले कसरी हार्यो ईयुको अदालतमा परेको आयरल्याण्डको १३ अर्ब डलर करको मुद्दा?

एप्पलले कसरी हार्यो ईयुको अदालतमा परेको आयरल्याण्डको १३ अर्ब डलर करको मुद्दा?
Global IME Bank

युरोपको सर्वोच्च अदालतले मंगलबार एप्पलको आयरल्याण्डमा कर सम्बन्धी १० वर्ष लामो कानूनी लडाइँमा एप्पलविरुद्ध फैसला सुनाएको छ।

युरोपियन कोर्ट अफ जस्टिसको यो निर्णय एप्पलले आफ्नो आईफोन, एप्पल वाच, र एयरपड लाइनअपलाई पुनर्जीवित गर्ने उद्देश्यले नयाँ उत्पादनहरूको एक श्रृंखला सार्वजनिक गरेको केही घण्टापछि आएको हो। सीएनबीसीले टिप्पणीको लागि एप्पलसँग सम्पर्क गरेको बताइएको छ।

कम्पनीले एक विज्ञप्तिमा भनेको छ, “युरोपियन कमिसन नियमहरूलाई पछाडिको मिति अनुसार परिवर्तन गर्न खोजिरहेको छ र, अन्तर्राष्ट्रिय कर कानूनको आवश्यकता अनुसार, हाम्रो आम्दानीमा पहिले नै अमेरिकामा कर लागिसकेको तथ्यलाई बेवास्ता गरिरहेको छ।”

लन्डनको समयअनुसार बिहान ०९:५२ मा प्रिमार्केट ट्रेडिङमा एप्पलका सेयरहरू १ प्रतिशतले घटेका थिए।

२०१४ मा युरोपियन युनियनको कार्यकारी शाखा युरोपियन कमिसनले एप्पलको आयरल्याण्डमा गरेको कर भुक्तानीको विषयमा अनुसन्धान सुरु गरेको थियो ।

कमिसनले २०१६ मा डब्लिनलाई एप्पलबाट १३ अर्ब यूरो (१४.४ अर्ब डलर) सम्मको कर फिर्ता असुल गर्न आदेश दिएको थियो। त्यतिबेला प्रविधि कम्पनीले दुई दशकसम्म आयरल्याण्डबाट “अवैध” कर लाभ प्राप्त गरेको आरोप लगाइएको थियो।

एप्पल र आयरल्याण्डले २०१९ मा कमिसनको निर्णयविरुद्ध अपील गरेका थिए र २०२० मा ईयूको जनरल कोर्टले अमेरिकी प्रविधि कम्पनीको पक्षमा फैसला सुनाएको थियो।

ईयूको दोस्रो उच्च अदालतले कमिसनको २०१६ को निर्णयलाई रद्द गर्दै कार्यकारी शाखाले आयरिश सरकारले एप्पललाई कर लाभ दिएको प्रमाणित गर्न नसकेको बताएको थियो।

युरोपियन कमिसनले फेरि जनरल कोर्टको निर्णयविरुद्ध अपील गरेपछि मुद्दा युरोपियन कोर्ट अफ जस्टिस (ईसीजे) मा पुगेको थियो। मंगलबार ईसीजेले जनरल कोर्टको निर्णयलाई खारेज गर्दै कमिसनको २०१६ को मूल निर्णयलाई पुष्टि गर्यो।

प्रतिस्पर्धा प्रमुख मार्गरेथ भेस्टागरको कार्यकालमा सुरु भएको यो मुद्दाले डेटा सुरक्षा, कर र एकाधिकार विरोधी मुद्दाहरू समाधान गर्ने प्रयास गरेको भन्दै यसले अमेरिकी प्रविधि कम्पनीहरू र युरोपेली संघ ईयूबीचको जारी विवादलाई उजागर गर्ने सीएनबीसीले जनाएको छ।

Sajilo Visa
easy care