‘हेभी लिफ्टर’ ड्रोन प्रयोग गरेर सगरमाथाको फोहोर उठाइने

Technology Khabar २८ श्रावण २०८१, सोमबार

‘हेभी लिफ्टर’ ड्रोन प्रयोग गरेर सगरमाथाको फोहोर उठाइने
तस्बिर सौजन्य: बिजनेसइन्साइडर डट कम

काठमाडौं ।

बर्सेनि पर्वतारोहीहरुको झुण्ड सगरमाथा आरोहणका लागि जाने क्रम बढेकाले यो एउटा फोहो। थुपार्ने ल्याण्डफिल साइट जस्तो देखिन थालेको छ।

त्यहाँ पुग्ने आरोहीहरुले हालसम्म अन्दाजी ५० मेट्रिक टनभन्दा बढी फोहर सगरमाथामा छोडेका छन्। अन्तरराष्ट्रिय समाचार संस्था बिजनेसइन्साइडरका अनुसार सगरमाथामा यति फोहोर छ कि त्यो देखेर अहिले मानिसहरुले विश्वको सर्वाधिक अग्लो चुचुरोको सट्टा ‘विश्वको सर्वाधिक अग्लो फोहोरको डुङ्गुर’ भनेर नाम दिन थालेका छन्।

नेपालले सगरमाथाको फोहर व्यवस्थापनका लागि थुप्रै उपायहरु प्रयोग गरिसकेको छ। यसमा त्यस क्षेत्रमा पुग्ने प्रत्येक यात्रुले एकपटकमा कम्तीमा १८ पाउण्ड फोहर बटुलेर ल्याउनुपर्ने र त्यसो नगरेको खण्डमा हजारौं डलर जरिबाना तिर्नुपर्ने बाध्यकारी व्यवस्थासमेत पर्दछ।

यसरी फोहर बटुलेर ल्याउने काम घुमिफिरी हिमाली भेगको पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पाहरुकै हुन आउने देखिएको छ। पर्वतारोहीहरुलाई हिमाल आरोहणका क्रममा बाटो देखाउने शेर्पाहरुले पनि सगरमाथामा छोडिएका फोहोर तथा अन्य सामानहरु बटुलेर ल्याउने गरेका छन्।

तर फर्कनेहरुले ल्याउने भन्दा आरोहणका लागि जानेहरुले छोड्ने फोहरको परिमाण बढी हुने भएकाले फोहर झनै थुप्रिँदो छ भने यसलाई मानिसहरुले नै बोकेर ल्याउने कुरा अब भने निकै कठिन र खतराजनक रहेको उल्लेख गरिएको छ। अब भने यसका लागि भयंकर उड्ने रोबोटहरु परिचालन गर्नुपर्ने आवश्यकता देखिन्छ।

यसै क्रममा नेपालले चालकरहित ती फोहोरका डुङ्गुर उठाउन ठूला ‘हेभी लिफ्टर’ ड्रोनका जत्था पठाउने योजना बनाएको बिजनेसइन्साइडरले लेखेको छ।

यसबाहेक यी धेरै उचाईमा उड्न सक्ने ड्रोनहरुले पहिले शेर्पाहरुले हातैले गर्दै आएको डोरी टाङ्ने तथा पर्वतारोहीका लागि आरोहणको रुट बनाउने पनि काम गर्ने जनाइएको छ। यसबाट यी काम गर्नका लागि शेर्पाहरुकै भर पर्नुपर्ने बाध्यता तथा चोटपटक र मृत्युको सम्भावना पनि घटाउँछ।

यी ड्रोनहरु चिनियाँ ड्रोन निर्माता कम्पनी दा जियाङ इनोभेशन्स अर्थात् डीजेआईले डेभलप तथा निर्माण गरेका हुन्। डीजेआईले अमेरिकामा निकै चर्चित उपभोक्ता ड्रोनहरु पनि निर्माण गर्दै आइरहेको छ।

उक्त कम्पनीले गत अप्रिल महिनामा आफ्नो पहिलो ड्रोन परीक्षणका लागि सगरमाथा क्षेत्रमा पठाएको थियो। यसरी पठाइएको एउटा ड्रोनले प्रतिघण्टा एभरेस्ट बेसक्यामपका दुई क्याम्पबाट ५०० पाउण्ड फोहोर बोक्न सकेको थियो। यत्तिको परिमाणमा फोहर बोक्न सामान्यतया: १२ जना शेर्पाहरुलाई कम्तीमा ६ घण्टा लाग्ने बताइएको छ।

बिजनेस इन्साइडरका अनुसार गरमाथा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत भुषालले यसरी ड्रोनको प्रयोग गर्दा शेर्पारुलाई खुम्बु आइसफलमा पर्वतारोहीहरुलाई बाटो देखाउँदा आइपर्ने खतराबाट पनि जोगाउने बताए।

खुम्बु आइसफल सगरमाथाको दक्षिणी पाखोबाट चढ्दा बेसक्याम्पभन्दा माथिपट्टि छहराजस्तो बिस्तारै र निरन्तर झरिरहेको हिउँको थुप्रोबाट बनेको झण्डै साढे २ किलोमिटर फैलिएको खोंच हो।

गत मे महिनामा अत्यधिक गर्मीका कारण हिमतालको हिँउँ पग्लिएर टुक्रिएका कारण सन् २०२४ को पर्वतारोहण सिजन १२ दिन पछाडि सरेको थियो। साथै गत वर्ष खुम्बु क्षेत्रमा आएको हिमपहिरोमा पुरिएर ३ जना शेर्पाको ज्यानसमेत गएको थियो।

‘आधा दिन लगाएर सगरमाथामा जाने र अर्को आधामा दिन फर्कने कुरा सामान्य हिसाबले पनि निकै जटिल कुरा हो। अझ गर्मी महिना बढ्दै जाँदा त यसरी आउजाउ गर्न झनै कठिन हुन्छ, युनिभर्सिटी अफ मेनका एक सगरमाथा अनुसन्धाताले बिजनेस इन्साइडरलाई यसअघि नै बताएका थिए।

भुषालका अनुसार शेर्पाहरुलाई ड्रोन चलाउन सिकाइनेछ र यसबारेको सबै काम अन्ततोगत्वा शेर्पाहरुले नै गर्नेछन्। शेर्पाहरु उच्च हिमाली भेगमा बसोबास गर्नुका साथै भरिया र पथ प्रदर्शकका रुपमा पर्वतारोहीहरुसँगै प्रायजसो सगरमाथामा गइरहने भएकाले ड्रोनबारे पनि उनीहरुलाई नै तालिम दिन खोजिएको देखिन्छ।

यस्ता उपकरणले शेर्पाहरुको रोजगारी खोस्ने चिन्ता जायज भए पनि आफूहरुको एकमात्र उद्देश्य सगरमाथाकै खतरनाक क्षेत्र मानिने खुम्बु आइसफलमा हुनसक्ने सम्भावित मृत्युको दर घटाउने रहेको भुषाललाई उद्धृत गर्दै बिजनेसइन्साइडरले उल्लेख गरेको छ।

प्रकाशित: २८ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया