पठाओका प्रबन्ध निर्देशक असिममानको खुला चेतावनी: ‘मेरा कुनै राइडरलाई छोएर मात्र त हेर…’

  • Technology Khabar | १३ श्रावण २०८१, आईतवार
पठाओका प्रबन्ध निर्देशक असिममानको खुला चेतावनी: ‘मेरा कुनै राइडरलाई छोएर मात्र त हेर…’

काठमाडौं ।

राइड शेयरिङ प्लेटफर्म पठाओका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले आफ्ना कुनै पनि राइडरलाई छुने दुस्साहस नगर्न खुला चेतावनी दिएका छन्।

राइड शेयरिङलाई गण्डकी सरकारले कानुनी मान्यता दिन लागेको भन्दै आज पोखराका सार्वजनिक यातायात ठप्प पारेपछि बस्न्यातले ट्विटरमा एउटा पोस्ट राख्दै यस्तो चेतावनी दिएका हुन् ।

ट्विटरमा उनले लेखेका छन्, ‘धाक धम्की र हिंसाबाट जनता तर्साएर मनोमानी गर्ने दिन गए हेक्का रहोस्। मेरोकोही rider लाई छुने पनि दुस्साहस नगरे हुन्छ। जनता अब चुप बस्दैन ।’

उनको आधिकारिक @AsheemMSB ह्याण्डलबाट आफ्नै टाइमलाइनमा पोस्ट गरिएको उक्त चेतावनीमा #Pathao,  #Pathaopokhara र #ridesharing ह्याशट्याग प्रयोग गरिएको छ। 

गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले आजदेखि प्रदेशमा सार्वजनिक यातायात ठप्प गराएका छन् ।

यातायात व्यवसायीसँग परामर्श नगरी एकलौटी रुपमा निजी सवारीसाधनलाई यात्री ओसारपसार गर्न वैधानिकता दिन लागिएकोप्रति यातायात व्यवसायी महासङ्घको आपत्ति रहेको महासंघका अध्यक्ष केदार पौडेलको भनाई छ।

यातायात व्यवसायीले यातायात प्राविधिकीकरण गठन गरी सञ्चालनको कार्यविधि तयार गर्ने, यातायात, मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्ने, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्ने, सडक सुरक्षा योजना लागू गर्नुपर्नेलगायत माग सरकारसँग राखेका छन् ।

बेलाबेलामा यातायात व्यवसायीले विभिन्न बहानामा राइड शेयरिङ प्लेटफर्मका राइडरहरुमाथि हातपात गर्ने गरेको र गण्डकी प्रदेशमा आजदेखि शुरु गरिएको यातायात बन्दका क्रममा पनि यस्ता हर्कत हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रबन्ध निर्देशक बस्न्यातले यस प्रकारको चेतावनी सार्वजनिक गरेको बुझिएको छ।

प्रकाशित: १३ श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार