Technology Khabar १३ श्रावण २०८१, आईतवार
काठमाडौं ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले बिटक्वाइनका क्षेत्रमा अमेरिकाले चीनलाई उछिन्नुपर्ने बताएका छन् ।
शनिबार न्याशभिलमा आयोजित बिटक्वाइन सम्मेलन २०२४ मा उनले यस्तो बताएका हुन् । बिटक्वाइनलाई चीनले प्रतिबन्ध लगाएको छ भने कुनै बेला ट्रम्प आफैंले यसलाई स्क्यामको संज्ञा दिँदै लत्याएका थिए ।
तर अहिले भने उनी बिटक्वाइनको समर्थक भएको र अमेरिकाले बिटक्वाइनको क्षेत्रमा राज नगरे चीनले गर्ने खतरा बढेको बताउन थालेका समाचार संस्था रोयटर्सले जनाएको छ।
उक्त सम्मेलनमा उनले आगामी निर्वाचनमा आफूले जिते अमेरिकालाई क्रिप्टोकरेन्सीको अग्रणी बनाउने साथै प्रतिद्वन्द्वी कमला ह्यारिसको तुलनमा अझ बढी क्रिप्टोकरेन्सी मैत्री नीति लागू गर्ने प्रतिबद्धता जाहेर गरे।
रिपब्लिकन पार्टीले क्रिप्टोकरेन्सीका बारेमा लचिलो नीति लिएको छ भने ट्रम्पले डेमोक्र्याटहरुले क्रिप्टोकरेन्सीमाथि अंकुश लगाउन तयार खोजेकोमा विरोध गर्दै आइरहेका छन्।
‘यदि हामीले क्रिप्टो र बिटक्वाइनलाई अंगालेनौं भने चीनका साथै अन्य देशले अंगाल्नेछन्। यसो भएमा यो क्षेत्रलाई तिनीहरुले शासन गर्नेछन् र हामीले चीनलाई शासन गर्न दिनु हुँदैन । तिनीहरुले यो क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेका छन्’, ट्रम्पले भने ।
चीनले क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएको छ भने सीमापार मुद्रा प्रसारमाथि कडा नियन्त्रणको नीति लिएको छ ।तर पनि त्यहाँका मानिसहरुले बिटक्वाइन तथा क्रिप्टोकरेन्सी लगायतका टोकनहरु कारोबार गर्न सक्छन् । त्यस्तै चिनियाँ लगानीकर्ताले क्रिप्टोकरेन्सीलगायतका टोकनहरु किन्नका लागि विदेशी बैंकमा खाता खोल्न सक्छन्। ट्रम्पले आफूले जितेमा क्रिप्टो राष्ट्रपतीय सुझाव परिषद् स्थापना गर्ने साथै क्रिप्टोकरेन्सी प्रयोग गरेर बिटक्वाइनको एउटा राष्ट्रिय ढुकुटी नै बनाउने पनि बताए । यो ढुकुटीमा अमेरिकी कानुन कार्यान्वयन इकाईहरुले हालसम्म जफत गरेका थुप्रै बिटक्वाइनहरु समावेश गरिने उनको भनाई थियो । उनले जनतालाई आफूसँग भएको बिटक्वाइन नबेच्न आग्रह गर्दै आफूले जितेमा अमेरिकी सरकारले हालसम्म जफत गरेका र प्राप्त गरेका सबै बिटक्वाइनहरु भविष्यसम्मै राख्ने आफ्नो सरकारको नीति रहने पनि विश्वास दिलाए ।
प्रकाशित: १३ श्रावण २०८१, आईतवार