समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

  • Technology Khabar | १ जेष्ठ २०८१, मंगलवार
समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

काठमाडौं ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष भगबती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छन्।

समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रमपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री चौधरीले त्यस्तो बताईन्।

लामो समय ग्रासरूटका काम गरेर आएको व्यक्तिको सिफारिस अनुसार मन्त्रिपरिषद्ले उपाध्यक्ष नियुक्त गरेको बताउँदै मन्त्री चौधरीले आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउन परिषद्का पदाधिकारी तथा कर्मचारीलाई आग्रह गरिन्।

परिषद्लाई डिजिटाइजेशन गर्नका निम्ति परिषद्को बोर्ड र कासले निर्णय गरेको भन्दै त्यसलाई अगाडि बढाउन समेत निर्देशन दिँदै मन्त्री चौधरीले आफूले गर्न खोजेको कार्यमा साथ दिन निर्देशन दिईन्।

‘परिषद्लाई अझ राम्रो बनाउनका निम्ति मैले केही काम गर्न खोजेको छु, यहाँहरूले त्यसमा साथ दिनुपर्छ’, मन्त्री चौधरीले भनिन, ‘हामीले परिषद्लाई डिजिटाइजेशनमा लैजाने भनेका छौँ । त्यसमा जानका निम्ति निर्णय भएका छन् । भेण्डर आह्वान गर्ने निर्णय गरेका छौँ । त्यसलाई अगाडि बढाउन लाग्नुस्।’

समाज कल्याण परिषद्लाई नयाँ ढङ्गले सञ्चालन गर्न आवश्यक रहेको भन्दै उनले मुलुक संघीय संरचनामा गइसकेपछि प्रादेशिक संरचनामा पनि जान जरुरी रहेको बताइन्।

जति सक्दो सहज र छिटो छरितो तवरले सेवाग्राहीलाई सेवा प्रवाह गर्नुपर्ने अपरिहार्यता रहेको भन्दै मन्त्री चौधरीले परिषद्को संरचनागत सुधारका निम्ति अगाडि बढ्न निर्देशन दिईन्।

प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...