डिजिटल डिभाइडको अवस्था अन्त्यका लागि नेपाल टेलिकमलाई पूर्वाधार चाँडो पूरा गर्न मन्त्री शर्माको आग्रह

  • Technology Khabar | ६ बैशाख २०८१, बिहीबार
डिजिटल डिभाइडको अवस्था अन्त्यका लागि नेपाल टेलिकमलाई पूर्वाधार चाँडो पूरा गर्न मन्त्री शर्माको आग्रह
रेखा शर्मा । फाइल तस्विर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरेकी छिन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमको पाँचौं केन्द्रीय अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले पछिल्लो समय कर्मचारीहरुमा त्रासको मनोविज्ञान देखिएकाले यसलाई हटाउनुपर्ने बताइन्।

‘विभिन्न नियमनकारी निकायहरुले निगरानी बढाएको कारण देखाउँदै पछिल्लो समय कर्मचारीले गर्नैपर्ने काममा पनि डराउने गरेको देखिएको छ,’ मन्त्री शर्माले भनिन् ‘तपाईँ कर्मचारीले नडराएर नविराएर उच्च मनोबलका साथ काम गर्नुपर्छ, कसैले पनि गल्ती गरिएन र कानुनको परिधिभित्र रहेर काम गरियो भने कुनै समस्या आउँदैन।’

गल्ती गर्ने हो भने राजनीतिक वा प्रशासनिक जुनसुकै क्षेत्रमा रहेका व्यक्ति कुनै पनि बेला सजायको भागिदार बन्नुपर्ने उल्लेख गर्दै उनले गल्ती नगर्नेहरु डराउन नपर्ने बताइन्। ‘बेइमानी नगरौं, बदमासी नगरौं तर कानुनको परिधिभित्र रहेर काम गर्न नडराऔं’, मन्त्री शर्माले दोहोर्याइन्, ‘हामीलाई कतै सोधपुछ हुन्छ कि भन्ने बहानामा कर्मचारीले काम नगर्ने हो भने सुशासन र सेवा प्रवाह झन् कमजोर हुने भएकाले म सबै कर्मचारी साथीहरुलाई कानुनको परिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्न चाहन्छु।’

अहिले नेपालमा कर्मचारीको सेवा सुविधा न्यून नै रहेको उल्लेख गर्दै उनले मुलुकको आर्थिक उन्नतिसँगै सेवा सुविधा पनि बढ्दै जाने भएकाले हरेक कर्मचारीले देश बनाउँछु र म पनि बन्छु भन्ने भावनाका साथ अघि बढ्नुपर्ने बताइन् सफा नियतका साथ काम गर्ने हो भने राजनीतिक, प्रशासनिक वा अन्य कुनै पनि क्षेत्रमा समस्या नआउने मन्त्री शर्माले स्पष्ट गरिन्।

सरकार डिजिटल नेपाल निर्माणको अभियानमा जुटेको उल्लेख गर्दै उनले डिजिटल नेपाल निर्माणको महत्वपूर्ण डिजिटल पूर्वाधार दूरसञ्चार भएकाले देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्याउन अनिवार्य रहेको बताइन्। ‘हामीले चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटमा सबै वडा केन्द्रसम्म इन्टरनेट सेवा पुर्याउने भनेका छौं तर अहिले पनि कतिपय पालिकामै सेवा नपुगेको गुनासो आइरहेको छ’– मन्त्री शर्माले भनिन्– ‘यो डिजिटल डिभाइडको अवस्था अन्त्य गर्न नेपाल टेलिकमले अघि सारेका परियोजनाहरु जतिसक्यो चाँडो पूरा गर्न आग्रह गर्न चाहन्छु।’

नेपाल टेलिकमका कर्मचारीहरुले आफ्नो पेशागत हितका साथै कम्पनीको उन्नति र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको सुझाव थियो। आज दूरसञ्चार बजारमा पुराना सेवाहरुको खपत घटेकाले नेपाल टेलिकमले उच्च प्रविधि र गुणस्तरीय सेवासहितको द्रूत गतिको इन्टरनेट सेवालाई आकर्षक बजार व्यवस्थापनका साथ अघि बढाउनुपर्ने उनले स्पष्ट गरिन्।

कर्मचारी संगठनका साथै टेलिकमका प्रादेशिक तथा जिल्ला कार्यालयबीच काममा प्रतिष्पर्धा गराउन व्यवस्थापन पक्षलाई आग्रह गर्दै मन्त्री शर्माले सेवा वृद्धि गरेर ब्यापार बढाउने र देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्याएर डिजिटल नेपाल निर्माणको अभियानमा नेतृत्व लिनुपर्ने बताइन्। देशका सबै ठाउँमा सहजरुपमा गुणस्तरीय इन्टरनेट सेवा दिने हो भने लाखौं युवाहरु नेपालभित्रै बसेर सेवा निर्यात गर्न सक्षम हुने र यसबाट ठूलो मात्रामा वैदेशिक मुद्रा भित्रने भएकाले मुलुकको समृद्धिका लागि अब धेरै भन्दा धेरै डिजिटल पूर्वाधारको विकास गरेर जानुपर्ने उनले बताइन्।

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Award-winning ‘Electric Compact Vehicle of the Year 2026’ – Proton e.MAS 5 coming to Nepal

  • Technology Khabar
  • ६ बैशाख २०८१, बिहीबार