Technology Khabar २२ फाल्गुन २०८०, मंगलवार
काठमाडौं ।
बाजुराको गौमुल गाउँपालिकाका विकट वडाहरूमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ। गौमुल गाउँपालिकाको अथक प्रयासपछि फोरजी सेवा सञ्चालनमा आएको अध्यक्ष हरि बहादुर रोकायाले बताए।
दूरसञ्चार कार्यालय बाजुराको सहयोगमा लामो प्रयासपछि गाउँपालिकाको केन्द्र घट्मुना र विकट वडाहरूमा आजबाट पूर्ण रुपमा फोर जि सेवा सञ्चालनमा आएको गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिएकी छन्।
अन्य विकासका कार्यहरू सुरु भइरहेका भएपनि सहज नेटवर्क नआउने समस्याले गौमुलका नागरिक आजित हुने समस्या अब देखि हट्ने गौमुल गाउँपालिकाले जनाएको छ।
लामो समयपछि गाउँपालिकामा फोर जी सेवा सञ्चालनमा आएको नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख लोक बहादुर खड्काले बताए।
गौमुल गाउँपालिकाका १, २ र ३ नम्बर वडाको लागि वडा नम्बर ६ को माथिल्लो बसाला र ४, ५ र ६ नम्बर वडाका लागि रेडियो गौमुलको रिपिटर टावर रहेको सटेडामा फोर जी सेवाका लागि टावर राखिएको रेडियो नेपालले रिपोर्ट गरेको छ।
पहिला नेट चलाउनकै लागि इन्टरनेट भएको स्थानमा पुग्नुपर्ने बाध्यता हटेको भन्दै सेवाग्राही हर्षित भएका छन्। गाउँगाउँमा फोर जी सेवा सञ्चालन भएसँगै अग्लो डाँडा चढ्नुपर्ने, टाढाटाढा हिँडेर जानुपर्ने बाध्यता हटेको स्थानीय समेत रहेका शिक्षक घमण्ड बहादुर सिंहले बताए।
गाउँपालिकाका विकट वडामा फोरजी सेवा सञ्चालनमा आएपनि टु जी सेवालाई थप विस्तार गरी सहज टेलिफोन सेवा सुचारु गर्न सरकारसँग स्थानीयले माग समेत गरेका छन् ।
प्रकाशित: २२ फाल्गुन २०८०, मंगलवार