चौबिस हजार चालक स्मार्ट लाइसेन्सको प्रतीक्षामा

Technology Khabar ६ फाल्गुन २०८०, आईतवार

काठमाडौं ।

बर्दीबास यातायात कार्यालयबाट लिखित र ट्रायल परीक्षा पास गरेको लामो समय बितिसक्दा पनि चालक अनुमतिपत्र (लाइसेन्स) नपाउँदा सवारीचालक हैरान छन्। बर्दीबासमा लाइसेन्स पास गर्नेको सङ्ख्या २४ हजार नाघिसकेको छ। यही विषयलाई लिएर यातायातका कर्मचारी र सेवाग्राही बिच दिनहुँजसो विवाद हुने गरेको छ।

लाइसेन्सबारे बुझ्न शुक्रबार बर्दीबासस्थित यातायात कार्यालय पुगेका धनुषा बौहरवाका विजयकुमार मण्डलले सन् २०२३ फरवरी ३ तारिखमै मोटरसाइकलको ट्रायल पास गरेको बताए। “ट्राफिकले जहिलेसुकै लाइसेन्स कार्ड देखा’ भनेर हैरान पार्छ। भौचर देखाउँदा मान्दैन, यातायातले लाइसेन्स दिँदैन, हामीले के गर्ने ?” उनको प्रश्न थियो।

बर्दीबास–२ का टेम्पोचालक हर्कबहादुर विश्वकर्माको पीडा पनि उस्तै छ । २०२२ डिसेम्बरमै ट्रायल पास विश्वकर्माको हातमा अहिले पनि भौचरको टुक्रा मात्र छ। त्यो पनि झुत्रो र अक्षर नबुझिने भइसक्यो। उनले गरी खान छाडेर लाइसेन्सकै लागि पटक पटक यातायात कार्यालय धाउनु परेको गुनासो गरे।

मिथिला नगरपालिका–१० का अर्का सेवाग्राही सन्तोष पहाडीका अनुसार यातायातले लाइसेन्सको साटो भौचरको टुक्रा मात्र दिने, ट्राफिकले भौचरलाई मान्यता नदिनाले समस्या रहेको बताए। समयमै सवारी लाइसेन्स नपाउँदा यातायात क्षेत्रमा अनेकन समस्या र विकृति बढ्न थालेको उनको भनाइ छ ।

सरकारले सवारी चालकका लागि स्मार्ट लाइसेन्स वितरण गर्न थालेको एक दशक बितिसकेको छ। नयाँ प्रविधिमा गएपछि समय र खर्चको बचत, पुराना समस्याको निराकरण र सेवास्तरीय हुनुपर्ने हो। स्मार्ट लाइसेन्सको सवालमा भने यसको उल्टो असर देखिएको बर्दीबासस्थित यातायात व्यवस्था कार्यालयका कर्मचारी नै बताउँछन्।

कार्यालय प्रमुख राजकिशोर साहले भने, “दैनिक ४० देखि ५० जना लाइसेन्स कार्ड किन आएन ? भनी झगडा नै गर्न खोज्छन् । एउटै प्रश्नको जवाफ दिँदा हामी नै हैरान छौँ।”

यातायातका अधिकृत सञ्जय खतिवडाका अनुसार सन् २०२२ अगस्ट २२ यता यस कार्यालयमा सवारी लाइसेन्स प्राप्त भएको छैन। यसबिच २०८० साल माघसम्म यस कार्यालयबाट लिखित र ट्रायल पास गर्नेको सङ्ख्या २४ हजार ३४ जना पुगेको छ। लाइसेन्स पाउनुपर्नेमा सबैभन्दा बढी मोटरसाइकलका २० हजार १२६ जना छन् । तर कहिले पाइने हो ? यकिन छैन । उनले बताए, “सवारी लाइसेन्सबापत तीन करोड २९ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ।”

स्मार्ट लाइसेन्सका लागि यति ठुलो राजस्व बुझाउँदा पनि हातमा भौचरका टुक्रा मात्र परेकाले राज्यले दोहोरो पीडा दिएको सेवाग्राहीको गुनासो छ।

गत महिना काठमाडौँबाट फर्कँदै गर्दा बीपी राजमार्ग अन्तर्गतको नारायणथान ट्राफिकले लाइसेन्सको ठाउँमा भौचर भएकै कारण ४५ मिनेटसम्म दुःख दिएको घटना बर्दीबास–१ का परमेश्वर महतोले स्मरण गरे। “भौचर देखाउँदा ट्राफिकले हजार रुपियाँ जरिबाना तिर्नै पर्छ भनी हैरान गर्यो,” उनले प्रश्न गरे, “हामीले रहरले भौचर बोकेको हो र ? समयमा लाइसेन्स नदिनु त राज्यको गल्ती हो, जनतालाई दोहोरो सजाय किन ?”

लाइसेन्स नहुँदा सवारी नियमन र अनुगमनमा अप्ठ्यारो हुने गरेको बर्दीबासस्थित जिल्ला ट्राफिक कार्यालय प्रमुख रामभक्त भट्टराईले बताए। ‘लाइसेन्स भौचर’ मा फोटो नहुँदा एक जनाको नाममा जारी भएको भौचरलाई अर्को व्यक्तिले पनि दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गएको बताए।

लाइसेन्स कार्डको महत्व र प्रमाणिकता कागजी भौचरले वहन गर्न नसक्ने हुँदा यस्ता भौचर सवारी ट्राफिकका लागि समेत टाउको दुखाइ भएको उनको भनाइ छ। “लाइसेन्सी भौचरको पछाडिपट्टि फोटोसहितको अर्को प्रमाण संलग्न नगरेका सवारी चालकलाई मात्र प्रमाणिकताका लागि शोधपुछ गरिएको हो, दुःख दिने नियत हैन,” भट्टराईले स्पष्ट पारे।

स्तरहीन कागजमा दिइने यस्ता भौचर पसिनाले भिज्ने, छिट्टै झुत्रो हुने, अक्षर नबुझिने दोष पनि ट्राफिकले सवारीचालकलाई दिने समस्याबाट आफू पनि भुक्तभोगी भएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिव नारायण घिमिरेले सुनाए। “राज्यले राजस्व बुझेर पनि समयमा लाइसेन्स दिँदैन, अर्कोतर्फ ट्राफिकले यसैलाई कारण बनाएर हैरान पार्छ,” उनले प्रश्न गरे, “समयमा दिने हैसियत थिएन भने स्मार्ट लाइसेन्स किन अनिवार्य गर्नु पर्यो ?” गोरखापत्रबाट

प्रकाशित: ६ फाल्गुन २०८०, आईतवार

तपाइको प्रतिक्रिया