
काठमाडौं ।
दाङको घोराही उपमहानगरपालिका–६ की गीता शर्माले विगत एक वर्षदेखि बिजुली चुलोमा खाना पकाउँदै आएकी छन्। त्यस अघि उनले ग्यासमा खाना पकाउने गर्थिन्। शर्माको बसोबास घोराही बजारदेखि पाँच किलोमिटरको दुरीमा छ। ढुवानी महँगो हुने भएकाले उनलाई ग्यास सकिँदा बजारबाट नयाँ सिलिन्डर मगाउन गाह्रो हुने गरेको थियो।
बिजुली चुलो प्रयोग गर्न थालेपछि शर्मालाई खाना पकाउन धेरै सहज भएको छ । उनी भन्छिन–“खाना पकाउन सजिलो भएको छ । सिलिन्डर फेर्नुपर्ने बाध्यता छैन।” कम खर्चमा भान्सा व्यवस्थापन गर्न पाएकामा शर्मा औधी खुसी छिन्।
यस्तै घोराही–१५ की सर्मिला रिजाललाई पनि अचेल बिजुली चुलो प्रयोगमा ल्याउँदा धेरै सजिलो भएको छ। उनी भन्छिन्, “पहिला दाउरामा खाना पकाइयो, गोबर ग्यासको पनि प्रयोग गरियो। ग्यासमा पनि खाना पकाइयो । तर तर सबैभन्दा राम्रो र सजिलो बिजुली चुलो लाग्यो । अन्य प्रविधिमा श्रम धेरै गर्नुपथ्र्यो । बिजुली चुलो प्रयोग गर्न सजिलो छ।”
न्यूनतम विद्युत् महसुलमा खाना पकाउने गरेको उनले बताईन् ।
शर्मा र रिजालको जस्तै अहिले दाङका गृहिणीको रोजाइमा बिजुली चुलो बन्दै गएको छ। ‘स्वच्छ नेपाल दाङ’ले बिजुली चुलो परियोजना ल्याएर सहुलियतमा चुलो वितरण गरिरहेको छ।
चुलोको साथमा प्रेसर कुकर, खाना पकाउने भाँडाकुँडा वितरण गर्ने गरेको स्वच्छ नेपालका अध्यक्ष सुशीला पौडेलले जानकारी दिए। ‘पर्यावरण संरक्षण र स्वच्छता हाम्रो अभियान’ नारासहित बिजुली चुलो बिक्री गरिँदैआएको छ। रासस
प्रकाशित: २५ माघ २०८०, बिहीबार