Technology Khabar १० माघ २०८०, बुधबार
काठमाडौं ।
नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। उनीहरूले अनुसन्धानलाई प्रभावित पार्न सक्ने गरी भाग्न खोजेको भन्दै अख्तियारले दुवै जनालाई बुधबार पक्राउ गरेको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरको अनुसन्धान गरिरहेको छ।
नेपाल राष्ट्र बैंकको अनुमतिबिना उनीहरूले विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोलेर रकम जम्मा गरेको आरोपमा अख्तियारले उनीहरु माथि अनुसन्धान गरिरहेको छ।
अख्तियारका अनुसार विकलले अमेरिकामा स्थायी आवासीय अनुमति (ग्रिनकार्ड) लिएको पनि देखिएको छ।
हाल उनीहरू दुवै जना हाल निलम्बित छन्। विशेष अदालतमा दायर भएका दुई वटा छुट्टाछुट्टै कसुरको मुद्दा विचाराधीन छ।
सुनिल नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा प्रतिवादी छन्। अख्तियारले गत असोज १५ गते सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
यसमा २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले बिगो कायम गरी कैद सजाय र जरिवानाको मागदाबी गरेको थियो।
विकल भने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रतिवादी छन्। उनीविरूद्ध गत वैशाखमा मुद्दा दायर भएको थियो।
अख्तियारले विकल पौडेलसहित ९ जनालाई प्रतिवादी बनाएर २ अर्ब ६९ करोड रुपैयाँको मुद्दा दायर गरेको थियो। विकल एक्लैविरूद्ध अख्तियारले ६९ करोड ८ लाख ८२ हजार ८५४ रुपैयाँको बिगो मागदाबी कायम गरेको थियो।
प्रकाशित: १० माघ २०८०, बुधबार