भारतको ‘एक्स–रे पोलारिमिटर’ स्याटेलाइट प्रक्षेपण, ब्ल्याक होलको अध्ययन गर्ने

  • Technology Khabar | १६ पुष २०८०, सोमबार
भारतको ‘एक्स–रे पोलारिमिटर’ स्याटेलाइट प्रक्षेपण, ब्ल्याक होलको अध्ययन गर्ने

काठमाडौं ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले नयाँ वर्षमा ‘एक्स-रे पोलारिमिटर’ भूउपग्रह प्रक्षेपण गरेको छ। यो स्याटेलाइटले ब्ल्याक होल जस्ता आकाशीय पिण्डहरुको रहस्यको अध्ययन गर्नेछ।

पीटीआई रिपोर्टका अनुसार उपग्रहलाई आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट इसरोको सबैभन्दा भरपर्दो स्याटेलाइट प्रक्षेपण वाहन पीएसएलभी मार्फत प्रक्षेपण गरिएको थियो। बिहान ९.१० बजे उडान भरेपछि ‘एक्स–रे पोलारिमिटर’ भूउपग्रहलाई पृथ्वीभन्दा ६५० किलोमिटर माथिको तल्लो पृथ्वीको कक्षमा राखिएको थियो ।

यो स्याटेलाइटले वैज्ञानिकहरूलाई एक्स-रे स्रोतहरूको रहस्य पत्ता लगाउन र ‘ब्ल्याक होल’ को रहस्यमय संसारको अध्ययन गर्न मद्दत गर्नेछ। इसरोका अनुसार यो पहिलो भूउपग्रह हो जसले एक्स-रे उत्सर्जन पत्ता लगाउनेछ र लगभग ५ वर्षको लागि इसरोलाई महत्त्वपूर्ण जानकारी प्रदान गर्नेछ।

सफल प्रक्षेपणपछि इसरोका अध्यक्ष एस सोमनाथले भने, ‘पीएसएलभीको अर्को सफल मिशन जनवरी १,२०२४ मा पूरा भयो। पीएसएलभी-सी५८ ले भूउपग्रह एक्पोस्याटलाई आफ्नो तोकिएको कक्षमा पठाएको छ।”

एस सोमनाथ अन्तरिक्ष विभागका सचिव पनि हुन्। उनले भूउपग्रहलाई राखिएको कक्ष उत्कृष्ट रहेको र ६५० किलोमिटरको गोलाकार कक्षबाट ३ किलोमिटर मात्र टाढा रहेको र झुकाव ००१ डिग्री रहेको जुन राम्रो अवस्था रहेको बताए। यसका साथै सोलार प्यानल पनि सफलतापूर्वक जडान गरिएको छ।

नयाँ प्रविधिले यो अभियानलाई रोचक बनाएको बताईएको छ। ‘एक्स-रे पोलारिमिटर’ भूउपग्रह उच्च ऊर्जा सिलिकन ब्याट्रीले सुसज्जित छ।

एक्सपोस्याट (XPoSat) को उद्देश्य विभिन्न खगोलीय स्रोतहरू जस्तै ब्ल्याक होल, न्यूट्रोन तारा, सक्रिय ग्यालेक्टिक न्यूक्ली, पल्सर विन्ड नेबुला आदिबाट उत्सर्जित विकिरणको अध्ययन गर्नु हो।

प्रकाशित: १६ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...